बागलुङको ढोरपाटन नगरपालिकाले संघीय सरकारको सार्वजनिक ऋण तिर्ने उद्देश्यले पाँच लाख रुपैयाँको विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नगर उपप्रमुख धनबहादुर कायतले सार्वजनिक बजेट प्रस्तुत गर्दै, ‘ऋणमुक्त राष्ट्र’ निर्माणको सन्देशसहित यस्तो निर्णय सुनाएका हुन्।
उपप्रमुख कायतका अनुसार, ढोरपाटन नगरपालिकाले आफ्नो दायित्व बोध गर्दै देशको ऋण घटाउने अभियानमा सघाउने निर्णय गरेको हो। उनले अन्य निकायलाई पनि यस अभियानमा सहभागी हुन आह्वान गरे।
नेपाल सरकारले चैत मसान्तसम्म लिएको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। यसमध्ये १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ आन्तरिक स्रोतबाट र १३ खर्ब एक अर्ब ७४ करोड रुपैयाँ बाह्य स्रोतबाट लिएको ऋण हो। यी ऋणको भार दामासाहीले भाग लगाउँदा हाल प्रत्येक नेपालीको टाउकोमा झन्डै ९१ हजार रुपैयाँभन्दा बढी ऋण परेको देखिन्छ।
ढोरपाटनको यो सानो भए पनि प्रतीकात्मक कदमलाई केहीले आलोचना गर्न सक्छन् भने केहीले राष्ट्रिय ऋणप्रति स्थानीय तहको सचेत सहभागिता भन्दै स्वागतसमेत गरेका छन्।


