Banijya News

बाफलको मेडल र स्टिकर गोदाममा आगलागी

1
1.1K Shares

काठमाडौँको नागार्जुन नगरपालिका–३, बाफलमा रहेको एक मेडल तथा स्टिकर गोदाममा आज बिहानै आगलागी भएको छ। स्थानीय राजेन्द्र उदासले सञ्चालन गरेको उक्त गोदाममा विद्युत् सर्ट भई बिहान अन्दाजी ०३:२० बजे आगो सल्किएको प्रहरीले जनाएको छ।

आगलागीको सूचना पाउनासाथ बालाजु दमकल, जुद्ध वारुण यन्त्र (न्युरोड), नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको थियो। सशस्त्र प्रहरी बल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक नीर कुमार कार्कीको कमान्डमा खटिएको ३५ जनाको टोलीसहितको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिइएको छ ।

सुरक्षाकर्मी र दमकलको करिब डेढ घण्टाको अथक प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट गोदाममा रहेका मेडल, स्टिकर, कच्चा पदार्थ र अन्य सामग्री जलेर पूर्णरुपमा नष्ट भएका छन्। क्षतिको यकिन विवरण संकलन भइरहेको छ, तर प्रारम्भिक अनुमान अनुसार लाखौँको भौतिक क्षति भएको बताइएको छ।

घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। आगो नियन्त्रणमा आइसकेपछि अहिले घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

1

Scroll to Top