भारतले समयमै ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’ (बिआइएस) चिह्न नवीकरण नगरिदिँदा नेपाली सिमेन्टको निर्यातमा ठूलो गिरावट आएको छ। चालु आर्थिक वर्षको ११ महिनामा नेपालले जम्मा दुई अर्ब ६६ करोड रुपैयाँबराबरको सिमेन्ट निर्यात गर्न सकेको छ, जुन अघिल्लो वर्षको तुलनामा एक अर्ब रुपैयाँ (३७.४६%) कम हो।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाका अनुसार, बिआइएस प्रमाणपत्रको म्याद सकिनुअघि नै नवीकरण नहुनु नै मुख्य कारण हो। उनका अनुसार, बिआइएस नवीकरण प्रक्रिया लम्बिँदा सिमेन्टसहित अन्य वस्तुहरूको निर्यातसमेत प्रभावित हुने गरेको छ।
नेपालले २०७९ असारदेखि सिमेन्ट तथा क्लिंकर भारत निर्यात गर्न थालेको हो। पहिलो वर्ष ७७ करोड रुपैयाँको सिमेन्ट निर्यात भएकोमा, आर्थिक वर्ष ०८०/८१ मा निर्यात रकम तीन अर्ब ८५ करोड रुपैयाँसम्म पुगेको थियो। तर, चालु वर्षमा निर्यात घटेर दुई अर्ब ६६ करोडमा सीमित भएको हो।
भन्सार विभागका अनुसार, जेठ मसान्तसम्ममा तीन लाख २३ हजार टन सिमेन्ट र चार लाख ८४ हजार टन क्लिंकर भारत निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा सिमेन्टको परिमाणमा केही वृद्धि भए पनि मूल्यका आधारमा निर्यात उल्लेख्य रूपमा घटेको छ।
बिआइएसको नवीकरण ढिलाइका कारण अहिले पनि केही उद्योगको सिमेन्ट निर्यात रोकिएको छ। सर्वोत्तम र अर्घाखाँची सिमेन्ट निर्यात भइरहे पनि पाल्पा सिमेन्टको बिआइएस म्याद सकिएपछि निर्यात रोकिएको बताइएको छ। नवीकरण प्रक्रियापछि पाल्पा सिमेन्टले पुनः निर्यात सुरु गर्ने जनाइएको छ।
गत पुसमा काठमाडौंमा सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय ‘आइजिसी’ बैठकमा बिआइएस प्रमाणपत्र नवीकरण प्रक्रिया सहज बनाउने सहमति भए पनि दीर्घकालीन समाधान हुन नसकेको व्यवसायीको गुनासो छ। मुरारकाका अनुसार, “नेपाल–भारतबीच एक–अर्काको गुणस्तर चिह्नलाई मान्यता दिने व्यवस्था भयो भने व्यापार थप सहज बन्नेछ।”


