आगामी तीन वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी झण्डै २१ सय अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको ‘मध्यकालीन खर्च संरचना’ अनुसार आर्थिक वर्ष २०८४/८५ मा नेपालीको औसत आम्दानी २ हजार ८७ डलर पुग्ने लक्ष्य राखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ५१७ डलर पुगेको छ। त्यसअनुसार तीन वर्षमा औसत आम्दानी ५७० डलरले बढ्ने देखिएको हो। आगामी वर्ष २०८२/८३ मा यो १ हजार ६६० डलर, र २०८३/८४ मा १ हजार ८५९ डलर पुग्ने प्रक्षेपण गरिएको छ।
प्रतिव्यक्ति आम्दानी बढेसँगै मुलुकको समग्र आर्थिक आकार (जीडीपी) पनि विस्तार हुने देखिएको छ। चालु वर्षमा ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको जीडीपी, आगामी वर्ष ६८ खर्ब २९ अर्ब, ०८३/८४ मा ७७ खर्ब ८९ अर्ब र ०८४/८५ मा बढेर ८९ खर्ब ९ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
योजना आयोगका अनुसार आगामी तीन वर्षमा औसत आर्थिक वृद्धि दर ७.१ प्रतिशत हुने अपेक्षा गरिएको छ। आर्थिक विस्तारसँगै लगानी पनि तीव्र गतिमा बढ्नेछ। चालु आवमा १७ खर्ब १३ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ भने आगामी वर्ष १८ खर्ब ८८ अर्ब र त्यसपछि २३ खर्ब ३६ अर्ब हुनेछ। अन्तिम वर्ष ०८४/८५ मा लगानी २६ खर्ब ५८ अर्ब रुपैयाँ पुग्नेछ।
सन् २०२६ मा नेपाल, बंगलादेश र लाओस राष्ट्रसंघको अतिकम विकसित देशको सूचीबाट स्तरोन्नति भई विकासशील मुलुक बन्ने तयारीमा छन्। नेपालले विकासशील राष्ट्रमा उक्लन आवश्यक तीन सूचकमध्ये मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचक २०२३ भित्रै पुरा गरिसकेको थियो।
२०२५ मा अद्यावधिक मानकअनुसार प्रतिव्यक्ति आय १ हजार ३०६ डलर हुनुपर्नेमा नेपाल १ हजार ४० डलरमा पुगेको छ। मानव सम्पत्ति सूचकाङ्क ७७.५८ छ भने आर्थिक तथा वातावरणीय जोखिम सूचक २८.९६ रहेको छ, जुन आवश्यक थ्रेसहोल्डभन्दा कम हो।
नेपाल १९७१ देखि राष्ट्रसंघको अतिकम विकसित मुलुकको सूचीमा परेको थियो। २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण तत्कालीन स्तरोन्नति प्रक्रिया केही समय पछाडि सारिएको थियो। नेपालले अनुरोध गरेअनुसार सन् २०२६ डिसेम्बरबाट विकासशील राष्ट्रमा उक्लने निर्णय राष्ट्रसंघले गरेको हो।
योजना आयोगका अनुसार आगामी वर्षहरूमा शिक्षा, स्वास्थ्य, यातायातजस्ता सामाजिक क्षेत्रमा भएको प्रगति तथा सरकारी–गैरसरकारी लगानीको समन्वयले आर्थिक–सामाजिक सुधारलाई अझ सुदृढ बनाउनेछ।


