Banijya News

भौतिकमा पनि टुक्रे योजनाका चाङ: तीन करोडमुनिका ३ सयभन्दा बढी योजना समावेश

1
1.1K Shares

संघीय सरकारको बजेटमा तीन करोड रुपैयाँभन्दा मुनिका योजना समावेश नगर्ने मन्त्रिपरिषदको निर्णय र अर्थमन्त्रीको सार्वजनिक प्रतिबद्धताविपरीत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वर्षको बजेटमा सयौँ टुक्रे योजना समावेश गरेको पाइएको छ।

‘रातो किताब’ अनुसार मन्त्रालयले मात्रै एक लाख रुपैयाँका २८ वटा योजना र पाँच लाखका २२० वटा योजना समेटेको छ। पक्की पुल निर्माणका लागि एक–पाँच लाख रुपैयाँको बजेट विनियोजन गरिएको उल्लेख छ, जुन कुल लागतको तुलनामा अत्यन्तै न्यून हो।

राष्ट्रिय योजना आयोगको ‘राष्ट्रिय आयोजना बैंक मापदण्ड २०८१’ ले तीन करोडभन्दा मुनिका योजना आयोजना बैंकमा प्रविष्टि गर्न नमिल्ने स्पष्ट व्यवस्था गरेको छ। तर, मन्त्रालयले मापदण्डको अवज्ञा गर्दै बजेटमा यस्ता योजनाहरू प्राथमिकतामा राखेको देखिन्छ।

स्थानीय सडक पुल निर्माण शीर्षकअन्तर्गत मात्रै ३९० योजनामध्ये २५ वटा पक्की पुल, दुई वटा पहुँच सडक र एउटा कल्भर्टका लागि एक–एक लाख रुपैयाँ मात्रै विनियोजन गरिएको छ। पूर्वसचिव अर्जुनजंग थापाका अनुसार, औसत ४० मिटर लामा पुल निर्माणका लागि कम्तीमा पाँचदेखि सात करोड रुपैयाँ लाग्छ। उनका अनुसार न्यूनतम ६ मिटरदेखि अधिकतम ७ सय मिटर लम्बाइसम्मका पुल निर्माण गरिन्छ, जसको लागत भूगोलअनुसार फरक हुन्छ।

सडक पुल निर्माण कार्यक्रमअन्तर्गत कुल २ अर्ब ८४ करोड ५१ लाख रुपैयाँ विनियोजन गरिएको भए पनि त्यसमा टुक्रे योजनाको संख्या उल्लेख्य छ। उदाहरणका लागि, इलामको बुढी सुखानी लोदिया च्यामेमा कल्भर्ट बनाउन १ लाख, ललितपुरको लुभुमा एप्रोच रोड बनाउन र विष्णुमतीमा सडक विस्तार गर्न एक–एक लाख रुपैयाँ मात्र छुट्याइएको छ।

रणनीतिक सडक पुल निर्माण तथा संरक्षण अन्तर्गत पनि टुक्रे योजनाहरू व्यापक छन्। ३५३ योजनाका लागि ३ अर्ब ९ करोड ६८ लाख रुपैयाँ छुट्याइएको भए पनि यसमध्ये ५ लाखका योजना मात्रै १२८ छन्। त्यस्तै, ३ लाख, ४ लाख ५० हजार, ६ लाख, ८ लाख, ९ र १० लाखका योजनाहरू पनि बजेटमा परेका छन्।

पूर्वसचिव थापाले भने, “बजेट भाषणमा तीन करोडभन्दा मुनिका योजना संघ सरकारले नल्याउने भनिए पनि रातो किताब हेर्दा त्यसको ठिक विपरीत अभ्यास देखिन्छ।”

1

Scroll to Top