Banijya News

ऊर्जा क्षेत्रमा कर्जा लगानी बढाउँदै वाणिज्य बैंकहरू

1
1.1K Shares

नेपालका वाणिज्य बैंकहरूले जलविद्युत र ऊर्जा क्षेत्रमा तोकिएको नियामकीय सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन्। अन्य क्षेत्रमा कर्जाको माग सुस्त रहे पनि जलविद्युत परियोजनामा भने कर्जाको माग र लगानी दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ।

बैंकहरूका अनुसार, जलविद्युत परियोजनाहरूको निर्माण कार्यले गति लिइरहेकाले यस क्षेत्रमा कर्जाको माग बढेको हो। यसै कारणले नियमकीय व्यवस्थाले असार मसान्तसम्ममा कुल कर्जाको ७ प्रतिशत ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरे पनि, चैतसम्ममा नै बैंकहरूले ८.८० प्रतिशत कर्जा यस क्षेत्रमा लगानी गरिसकेका छन्। बैंकहरूले चैतसम्ममा कुल ४९ खर्ब १३ अर्ब रुपैयाँ ऊर्जामा कर्जा लगानी गरेका छन्। जानकारहरूका अनुसार, असार मसान्तसम्ममा यो लगानी अझै बढ्नेछ।

राष्ट्र बैंकले आगामी २०८४ असारसम्ममा ऊर्जा तथा जलविद्युत क्षेत्रमा कुल कर्जाको १० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ। समग्रमा ऊर्जा क्षेत्रमा न्यूनतम सीमाभन्दा बढी कर्जा प्रवाह भए पनि, केही बैंकहरूले भने अझै यो सीमा कायम गर्न सकेका छैनन्। असार अन्तिमसम्ममा केही बैंकहरूले लक्ष्य पूरा गर्न सक्ने देखिए पनि, सबैका लागि यो सहज छैन।

जलविद्युत तथा ऊर्जा क्षेत्रमा सबैभन्दा बढी कर्जा लगानी गर्नेमा एनएमबि बैंक अग्रपंक्तिमा छ, जसले आफ्नो कुल कर्जाको १३.७१ प्रतिशत यस क्षेत्रमा लगानी गरेको छ। यसको विपरीत, एनआईसी एशिया बैंकले भने १.०९ प्रतिशतमात्रै लगानी गरेको छ, जुन सबैभन्दा कम हो। कृषि विकास बैंक, ग्लोबल आइएमई, हिमालयन र नेपाल बैंकको जलविद्युत तथा ऊर्जा क्षेत्रमा कर्जा लगानी पनि न्यूनतम सीमाभन्दा कम छ। यीमध्ये केहीले असार मसान्तसम्ममा लक्ष्य पूरा गर्ने सम्भावना देखिए पनि, एनआईसी एशिया र कृषि विकास बैंकलाई भने लक्ष्य पूरा गर्न केही चुनौती छ।

एनएमबि बैंकका साथै, सानिमा र कुमारी बैंकले पनि जलविद्युत तथा ऊर्जा क्षेत्रमा उत्साहजनक रूपमा कर्जा लगानी गरेका छन्। सानिमा बैंकले कुल कर्जाको १३.३८ प्रतिशत यस क्षेत्रमा लगानी गरेको छ। सानिमा बैंकका सीईओ निश्चल पाण्डेका अनुसार, जलविद्युत परियोजना निर्माणले गति लिँदा समग्र कर्जा विस्तारमा यसले सकारात्मक माहोल सिर्जना गरिरहेको छ। सानिमापछि कुमारी बैंकले १३.२९ प्रतिशत, प्राइम बैंकले ११.३२ प्रतिशत, र सिटिजन्स बैंकले ११.२१ प्रतिशत लगानी गरेका छन्। नेपाल इन्भेष्टमेण्ट मेगासहित कुल ८ वाणिज्य बैंकले जलविद्युत तथा ऊर्जा क्षेत्रमा ९ प्रतिशतभन्दा बढी कर्जा लगानी गरेका छन्। नेपाल एसबिआई र प्रभु बैंकले भने ७ प्रतिशतभन्दा थोरै बढी मात्रै यस क्षेत्रमा कर्जा लगानी गरेका छन्।

बैंकरहरूका अनुसार, अन्य क्षेत्रमा कर्जाको माग बढ्न नसकिरहेको समयमा प्राथमिकता प्राप्त ऊर्जा क्षेत्रमा बैंकहरूले लगानी बढाएका छन्। यद्यपि, ऊर्जा उत्पादकहरूले भने बैंकहरूले यस क्षेत्रमा कर्जा लगानी अझै बढाउनुपर्नेमा जोड दिँदै आएका छन्।

1

Scroll to Top