Banijya News

काँकडभिट्टा नाकाबाट २० अर्बभन्दा बढी व्यापार घाटा

1
1.1K Shares

नेपालको प्रमुख पूर्वी नाका काँकडभिट्टाबाट हुने वैदेशिक व्यापारमा चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा २० अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा देखिएको छ। मेची भन्सार कार्यालय, काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार भारत, बंगलादेश र भुटानसँगको व्यापारमा मात्रै नेपालले २० अर्ब ४४ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको हो।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा व्यापार घाटा १८ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ रहेको थियो। यसरी चालु वर्षमा व्यापार घाटा अझै चुलिएको देखिएको छ।

जेठ मसान्तसम्म नेपालले काँकडभिट्टा नाकाबाट ४३ अर्ब ७२ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात भने २३ अर्ब २८ करोड ३५ लाख रुपैयाँमा सीमित रह्यो। यो व्यापार असन्तुलनकै कारण घाटा तीव्र भएको हो। यस अवधिमा कार्यालयले आयातबाट १४ अर्ब २० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

त्यस्तै, निर्यातबाट जम्मा २३ करोड ७५ लाख रुपैयाँ मात्र राजस्व उठेको देखिएको छ। आयाततर्फको तुलनामा निर्यातको राजस्व हिस्सा अत्यन्त न्यून रहँदा कुल राजस्व सन्तुलनमा पनि प्रभाव परेको छ।

नेपालले भारतसँग काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी आयात गर्ने गरेको छ। प्रमुख आयात वस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट तथा जुटजन्य वस्तु, फलफूल, तरकारी, दलहन, मेसिनरी उपकरण, यातायातका साधन तथा पार्टपूर्जा, प्लास्टिक कच्चा पदार्थ, फलामे सामग्रीहरू रहेका छन्।

त्यसैगरी नेपालले सो नाकाबाट निर्यात गर्ने प्रमुख वस्तुहरूमा अलैंची, चिया, अम्रिसो, मोलासिस, फलामे पाता, प्लाइउड, सिमेन्ट क्लिंकर, अदुवा, सुठो, भेनियर सीट लगायत रहेका छन्।

चालु आर्थिक वर्षको एघार महिनामा नेपालले पेट्रोलियम पदार्थ आयात गर्न १६ अर्ब १९ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ। यिनै वस्तुबाट मात्रै कुल आयात राजस्वको ६०.५५ प्रतिशत हिस्सा पुगेको भन्सार कार्यालयको तथ्यांक छ। त्यस्तै, तरकारी आयातमा २ अर्ब ५४ करोड रुपैयाँ खर्चिएको छ।

काँकडभिट्टा नाका हुँदै हुने आयात–निर्यातमा थोरै प्रगति भए पनि निर्यातको हिस्सा अपेक्षाकृत न्यून रहँदा समग्र व्यापार असन्तुलनको समस्या अझै गहिरिँदै गएको देखिएको छ।

राज्यको भन्सार आम्दानी आयातमा निर्भर भइरहँदा घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने र निर्यात वृद्धि गर्ने दीर्घकालीन रणनीति अपनाउनु अत्यावश्यक देखिन्छ।

1

Scroll to Top