समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म समस्याग्रस्त घोषणा गरिएका १९ वटा सहकारी संस्थाका ऋणीहरूमाथि कर्जा असुली प्रक्रिया अघि बढाएको छ। कार्यालयले ती सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक र कर्मचारीलाई असार मसान्तभित्र दायित्व चुक्ता गर्न अन्तिम समयसीमा तोकेको छ।
समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन, २०७४ को दफा १० बमोजिम सहकारीहरूलाई समस्याग्रस्त घोषणा गरिएकाले त्यसअनुसार सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। पटक–पटक सार्वजनिक सूचना प्रकाशन गरिए पनि धेरैले आफ्नो दायित्व नचुकाएपछि अन्तिम चेतावनीस्वरूप यो प्रक्रिया सुरु गरिएको हो।
समितिका अनुसार, तोकिएको समयभित्र ऋण नतिरेमा साउन १ गतेदेखि असुली प्रक्रिया औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ। असुली प्रक्रियामा त्यस दिनसम्मको मूलधन (साँवा), ब्याज र हर्जाना समेत गणना गरिनेछ। समितिले यसपटकको सूचना ‘अन्तिम सूचना’ भन्दै सार्वजनिक गरेको छ।
समितिले बताएको अनुसार, यी १९ वटा सहकारी संस्थाले अर्बौं रुपैयाँ बराबरको बचत रकम अपचलन गरेका छन्। बचतकर्ताले लगानी गरेका रकम फिर्ता गर्न अप्ठ्यारो परेपछि सरकारले विशेष व्यवस्थापन समिति गठन गरी कर्जा असुली प्रक्रिया अघि बढाएको हो। यस कार्यको उद्देश्य पीडित बचतकर्ताहरूको हितमा रकम फिर्ता सुनिश्चित गर्नु हो।
समस्याग्रस्त घोषणामा परेका सहकारी संस्थाहरूमा प्यासिफिक, प्रभु, ओरेन्टल, गोरखा, स्टाण्डर्ड, पशुपति, शिवशिखर, नेपाल सहकारी वित्तीय संस्था, लुनिभा, हाम्रो नयाँ कृषि, कृषि विकास, सोसाइटल, भेगास, तुलसी, श्री लालिगुरास, कञ्जुमर, कोहिनुर हिल, कान्तिपुर र गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाहरू छन्।
समितिले उल्लेख गरेअनुसार, यस्ता सहकारीहरूले संस्थागत लापरबाही, अव्यवस्थित ऋण प्रवाह, गैरकानुनी लगानी र आन्तरिक व्यवस्थापनको कमजोरीका कारण ठूलो आर्थिक क्षति पुर्याएका छन्। यसले बचतकर्ताको विश्वासमा आँच पुर्याउनुका साथै सहकारी प्रणालीमै संकट ल्याएको समितिको ठहर छ।
समितिको भनाइमा, अबदेखि सम्पूर्ण प्रक्रिया पारदर्शी ढंगले अघि बढाइनेछ। सहकारीहरूको सम्पत्ति पहिचान, मूल्यांकन, लिलामी, दायित्व भुक्तानी र कानुनी कारबाहीसम्मका चरणहरूमा सरकार सशक्त रूपमा अघि बढ्नेछ।
यसरी अर्बौंको अपचलनमा संलग्न सहकारीहरूविरुद्ध सुरु गरिएको कर्जा असुली प्रक्रिया सहकारी क्षेत्रमा अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने दिशामा ठूलो कदमका रूपमा हेरिएको छ।


