कर्जाको माग सुस्त बनेपछि बैंकिङ प्रणालीमा १० खर्ब २२ अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ। तरलता प्रशस्त भए पनि माग कमजोर भएपछि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा र निक्षेप दुवैको औसत ब्याजदर उल्लेख्य रूपमा घटेको छ।
नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार कर्जाको भारित औसत ब्याजदर ७.९९ प्रतिशत र निक्षेपको औसत ब्याजदर ४.२९ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले ब्याजदरको गणना सुरु गरेयताकै यो सबैभन्दा न्यून बिन्दु हो।
ब्याजदर निरन्तर घटेसँगै बैंकहरूको स्प्रेड दर (कर्जाबाट लिएको ब्याज र निक्षेपमा दिएको ब्याजबीचको अन्तर) पनि खुम्चिएको छ, जसको प्रत्यक्ष असर बैंकहरूको नाफामा परेको देखिन्छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति अलि लचक बनाएको भए पनि कर्जा प्रवाहमा उल्लेख्य सुधार देखिएको छैन।
कर्जा प्रवाहलाई प्रवर्द्धन गर्न राष्ट्र बैंकले ब्याजदर कोरिडोर झनै घटाइएको छ, जसअनुसार नीतिगत दर ४.५ प्रतिशत, बैंक दर ६ प्रतिशत र निक्षेप संकलन दर २.७५ प्रतिशत कायम गरिएको छ।
कतिपय बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष अनुपातमा दबाब देखिएको छ। खराब कर्जा (एनपीएल) वृद्धि भएसँगै प्रोभिजनिङका लागि थप रकम छुट्याउनुपर्ने बाध्यताले पुँजीकोषमा असर परेको हो। यसले गर्दा कर्जा विस्तार गर्न बैंकहरू असमर्थ देखिएका छन्।
तरलता अत्यधिक भएपछि राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत करिब ६ खर्ब रुपैयाँ बजारबाट सोसिसकेको छ। यसका बाबजुद बैंकहरू कर्जा प्रवाहमा सुस्त छन्।
पुँजीकोष अभाव समाधान गर्न राष्ट्र बैंकले अघिल्लो वर्ष अगाडि सारेको अग्राधिकार सेयर निष्कासनको व्यवस्था हाल धितोपत्र बोर्डमार्फत कार्यान्वयनमा आएको छ।
त्यसैगरी चालु आर्थिक वर्षको मौद्रिक नीतिमा हकप्रद सेयरमार्फत पुँजी बढाउने मार्ग खुलाइएको छ। साथै धितो स्वीकार गरी रेगुलेटरी रिजर्भमा छुट्याइएको रकमलाई पूरक पुँजीमा गन्न मिल्ने व्यवस्था गरिएको छ, जसले पुँजीकोषमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ।
यद्यपि एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थापक सेयरधनीहरूले सोही बैंकबाट ऋण लिन नपाउने प्रावधान कायमै रहेकाले उनीहरू यसप्रति उत्साहित देखिएका छैनन्।
निक्षेपको ब्याजदर अत्यन्तै न्यून भएपछि अब संस्थागत निक्षेपकर्ताहरूले अन्य विकल्प खोज्नुपर्ने दबाब बढेको छ। उता परिवर्तनशील ब्याजदरमा ऋण लिएका पुराना ऋणीहरूले भने यसबाट राहत पाएका छन्। नयाँ ऋण लिने चाहना राख्नेहरूका लागि पनि हालको ब्याजदर आकर्षक बन्दै गएको देखिन्छ।


