विद्युत विकास विभागले ‘अपफ्रन्ट फी’ विधिमार्फत ४९३ मेगावाट क्षमताका २० जलविद्युत आयोजना प्रतिस्पर्धामार्फत निजी लगानीकर्तालाई दिने तयारी गरेको छ ।
यसअघि सरकारले आधा दर्जन जलविद्युत आयोजना (सुपर सिक्स प्रोजेक्ट) अपफ्रन्ट फी विधिमार्फत निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट दिएकोे थियो । अहिले विभागले पनि बास्केटमा रहेका आयोेजनाहरुलाई यही विधि अपनाउँदै निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट दिने प्रक्रिया अघि बढाएको हो ।
विभागले गत जेठ १७ गते अग्रिम रकम भुक्तानी विधिमा २३९ मेगावाट क्षमताका १४ आयोजना अघि बढाउन लगानीकर्तासँग आशयपत्र (इओआई) मागेको थियो । त्यसबेला आयोजनामा प्रस्ताव पेस गर्ने समय जुन ३० सम्मको समय दिएको थियो ।
निर्धारित समयमा निजी क्षेत्रबाट आशयपत्र नआएपछि विभागले शनिबार पुनः प्रस्ताव मागेको छ । आशयपत्र पेश गर्ने अन्तिम मिति आउँदो अगस्ट ११ गते दिउँसो १२ बजेसम्मलाई तोकिएको छ । सोही दिन आशयपत्र खोलिने जानकारी विभागले दिएको छ ।
प्रस्तावित आयोजनाहरु आफैँ निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा अघि बढाउन लागेको विभागले जनाएकोे छ ।
नेपाली जलविद्युत कम्पनीले संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा प्रस्तावित आयोजना बनाउन आशयपत्र पेस गर्न सक्ने विभागले जानकारी दिएको छ ।
विभागले पुनः आशयपत्र मागेका आयोजनामा ५३.८५ मेगावाटको अपर चमेलिया, ३३.३ मेगावाटको कबाडीखोला–१, ३० मेगावाटको कवाडीखोला, २७.९ मेगावाटको मिडिल इन्खुवाखोला, १५.५ मेगावाटको जुगडा बुढीगंगा र १५.२५ मेगावाटको जावाखोला हुन् ।


