मुलुकमा वैदेशिक लगानीको लहर उत्साहजनक रूपमा बढिरहेको छ। उद्योग विभागको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मङ्सिर) मा मात्रै ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यो अवधिमा कुल ४३८ वटा नयाँ परियोजनाका लागि लगानी स्वीकृत भएको छ, जसले नेपाली बजारमा वैदेशिक लगानीकर्ताको बढ्दो भरोसालाई संकेत गर्दछ। संख्यात्मक हिसाबले सूचना प्रविधिमा धेरै रुचि देखिए पनि ठूलो पूँजी भने कृषि तथा वनजन्य उद्योगमा केन्द्रित भएको छ। केवल १३ वटा कृषि परियोजनाका लागि झण्डै २२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जुन कुल लगानी रकमको ठूलो हिस्सा हो। लगातार पाँच महिनासम्म लगानी प्रतिबद्धता बढ्दै जानुले आगामी दिनमा आन्तरिक रोजगारी सिर्जना र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
कुन क्षेत्रमा कति आकर्षण? (लगानीको हिस्सा)
परियोजना संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्र सबैभन्दा अगाडि देखिए पनि लगानी रकमका आधारमा कृषि क्षेत्रले बाजी मारेको छ।
- सूचना तथा सञ्चार प्रविधि (ICT): ५४% प्रतिबद्धता (२३६ परियोजना)
- पर्यटन क्षेत्र: ३१% प्रतिबद्धता
- उत्पादनमूलक क्षेत्र: ६% प्रतिबद्धता
- सेवा क्षेत्र: ६% प्रतिबद्धता
- कृषि क्षेत्र: ३% प्रतिबद्धता
लगानी रकमका आधारमा चालु आर्थिक वर्षको पछिल्लो पाँच महिना कृषि तथा वनजन्य क्षेत्रमा २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । जुन कुल लगानी प्रतिबद्धताको सबैभन्दा ठुलो हिस्सा हो । त्यस्तै, पर्यटन क्षेत्रमा पर्यटन क्षेत्रमा १ सय ३५ परियोजनाका लागि लगानी प्रतिबद्धता भएको छ । जसका लागि १० अर्ब १२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै,सेवा क्षेत्रमा २८ परियोजनाबाट ३ अर्ब ३८ करोड रुपैयाँको लगानी प्रस्ताव भएको छ । यसले पर्यटन पूर्वाधार र सेवा क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । कृषि, पर्यटन र आईसीटी क्षेत्रमा लगानी प्रतिबद्धता सकारात्मक देखिएको छ । तर नेपालका प्रचुर सम्भावना भएको ऊर्जा र पूर्वाधार क्षेत्रमा भने विदेशी लगानीमा भने आकर्षण न्यून देखिएको छ । ऊर्जा र पूर्वाधार क्षेत्रमा सरकारको नीतिगत अस्थिरता,झन्झटिलो प्रक्रिया लगायतको कारण विदेशी लगानीकर्ता ऊर्जा र पूर्वाधार क्षेत्रमा आकर्षण नदेखिएको तथ्याङ्कले देखाएको छ ।पछिल्लो समय विदेशी लगानीकर्ताले पनि नेपालमा साना, छिटो प्रतिफल दिने र सेवा क्षेत्रमा आधारित उद्योगमा केन्द्रित भएको देखिन्छ ।
उद्योग विभागको पछिल्लो तथ्याङ्क अनुसार मङ्सिर महिनामा मात्रै थप १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यससँगै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल लगानी प्रतिबद्धता साढे ३८ अर्ब नाघेको छ।
मङ्सिरको ‘रिपोर्ट कार्ड’
साउनदेखि मङ्सिरसम्म कुल ३८ अर्ब ५९ करोडको प्रतिबद्धता आउँदा ५४% हिस्सा सूचना प्रविधि (ICT) क्षेत्रले ओगटेको छ भने लगानीको अंकका आधारमा कृषि क्षेत्रले ठूलो छलाङ मारेको छ। मङ्सिर महिनामा विदेशी लगानीकर्ताहरूले कुल ५६ वटा उद्योगमा लगानी गर्ने रुचि देखाएका छन्:
- साना उद्योग: ५४ वटा
- मझौला उद्योग: २ वटा
- कुल लगानी प्रतिबद्धता: १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ
रोयल्टी फिर्ता र भिसा सिफारिस
लगानीसँगै विदेशी कम्पनीहरूले आफ्नो प्रतिफल र रोयल्टी लैजाने क्रम पनि देखिएको छ। साउनदेखि मङ्सिरसम्मको अवधिमा:
- रोयल्टी फिर्ता: विभागले १ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ रोयल्टीबापत फिर्ता लैजान स्वीकृति दिएको छ।
- मुद्राको स्वरूप: यसमा ६ लाख ४० हजार अमेरिकी डलर र १५ करोड ३३ लाख भारतीय रुपैयाँ (IC) सामेल छन्।
- भिसा सिफारिस: विदेशी लगानीकर्ता र उनीहरूका प्रतिनिधि गरी कुल १,७८२ जनालाई विभागले भिसाका लागि सिफारिस गरेको छ।


