स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका सम्पत्ति जोगाउन निर्देशन दिएको छ ।
मन्त्रालयले अस्पतालहरुलाई वैशाख ३० गते परिपत्र जारी गर्दै आफ्नो स्वामित्वका जग्गाजमीन र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको हो । मन्त्रालयले अस्पतालहरूको जग्गामा अतिक्रमण भएको विवरणसमेत माग गरेको छ । साथै, स्वीकृत नक्साअनुसार साँध–सिमाना यकिन गरी अनधिकृत संरचना वा अतिक्रमण भए–नभएको विस्तृत विवरण तयार गर्न पनि निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार, यदि अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्नुपर्नेछ । सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाई अस्पतालको भोगाधिकार पुनः कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, भविष्यमा पुनः अतिक्रमण हुन नदिन खाली वा अतिक्रमणमुक्त जग्गामा कम्पाउण्ड वाल (घेराबार) निर्माण गर्न तथा आवश्यक सुरक्षा उपाय अपनाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । जग्गासम्बन्धी लालपुर्जा र स्रेस्ता अद्यावधिक गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न पनि भनिएको छ ।
मन्त्रालयले वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, भरतपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल, भेरी अस्पताल लगायतका प्रमुख स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको हो ।
यसैगरी, आयुर्वेद चिकित्सालय, पशुपति होमियोप्याथिक चिकित्सालय, सिंहदरबार वैद्यखाना विकास समिति तथा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा लगायतका निकायलाई पनि परिपत्र गरिएको छ । मन्त्रालयले सरकारी सम्पत्तिको संरक्षण, व्यवस्थापन सुधार तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन यो कदम चालिएको उल्लेख गरेको छ ।


