अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक पुनरुत्थान, संरचनागत सुधार र दिगो आर्थिक वृद्धि हासिल गर्न नीतिगत स्पष्टता तथा आत्मविश्वास सबैभन्दा महत्वपूर्ण आधार भएको बताएका छन्। सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै लक्ष्य र विश्वासका साथ अघि बढे मात्रै अर्थतन्त्रले अपेक्षित गति लिन सक्ने उनको भनाइ छ।
बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको अन्तरक्रियामा अर्थमन्त्री वाग्लेले पछिल्लो समय निजी क्षेत्रसँग भएका छलफलका निष्कर्ष प्रस्तुत गर्दै व्यवसायीहरूले सहुलियतभन्दा बढी स्थिर नीति, पूर्वानुमानयोग्य नियम, छिटो निर्णय प्रक्रिया र प्रभावकारी कार्यान्वयनको अपेक्षा गरेको उल्लेख गरे। उनले आर्थिक नीति निर्माणमा स्पष्टता र त्यसको कार्यान्वयनमा दृढता कायम गर्न सके निजी क्षेत्रको विश्वास पुनः स्थापित हुने विश्वास व्यक्त गरे।
अर्थमन्त्रीले विगत एक दशकको आर्थिक अवस्थाको समीक्षा गर्दै नीति निर्माण र व्यवहारिक कार्यान्वयनबीच देखिएको दूरी कम गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार धेरै नीतिगत निर्णय भए पनि अपेक्षित परिणाम हासिल हुन नसक्नुको कारण गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने अवस्था आएको छ। उनले चालु आर्थिक वर्षको बजेटलाई नियमित वार्षिक कार्यक्रमभन्दा माथि उठेर आर्थिक सुधार र संरचनागत परिवर्तनको मार्गचित्रका रूपमा लिनुपर्ने धारणा राखे।
उनले नेपाल राष्ट्र बैंकले परम्परागत नियामक भूमिकामा मात्र सीमित नरही आर्थिक रूपान्तरणलाई सहयोग गर्ने संस्थाका रूपमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। मौद्रिक नीति र सरकारी आर्थिक नीतिबीच प्रभावकारी समन्वय भए मात्र उत्पादन, लगानी र रोजगारीमा अपेक्षित सुधार सम्भव हुने उनको भनाइ थियो।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकसँग उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, व्यवसाय र रोजगारी सिर्जनामा उपयोग गर्ने तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध विकास गर्ने विषयमा सुझाव मागेका थिए। साथै, डिजिटल वित्तीय सेवा, फिनटेक, स्टार्टअप वित्तपोषण तथा नवीन वित्तीय उपकरणहरूको विकासका लागि नियामकीय वातावरण थप सहज बनाउनुपर्ने आवश्यकता पनि उनले औँल्याए।
अर्थमन्त्रीले पछिल्लो समय निजी क्षेत्र किन लगानी विस्तारमा उत्साहित हुन नसकेको, बैंकहरूमा पर्याप्त तरलता हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह किन बढ्न नसकेको तथा उत्पादकत्वमा अपेक्षित सुधार किन आउन नसकेको भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे। नियमनले नवप्रवर्तनलाई प्रोत्साहन गरिरहेको छ वा अवरोध सिर्जना गरिरहेको छ भन्ने प्रश्नको उत्तर खोज्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।
उनले नेपाल राष्ट्र बैंकलाई केवल वित्तीय क्षेत्रको नियामक निकायका रूपमा नभई आर्थिक रूपान्तरणको सहयात्री र साझेदार संस्थाका रूपमा हेर्नुपर्ने उल्लेख गर्दै सरकारले आवश्यक कानुनी संशोधन तथा संस्थागत सुधारका प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। त्यसअनुसार मौद्रिक नीतिमा पनि समयानुकूल सुधार र स्पष्टता आवश्यक रहेको उनले बताए।
छलफलमा उठेका सुझाव र धारणालाई कार्ययोजनामा रूपान्तरण गरिने तथा आवश्यक परे सरकार र नेपाल राष्ट्र बैंकबीच नीतिगत समन्वयलाई थप प्रभावकारी बनाउन संयुक्त कार्यदल गठन गर्ने सम्भावनासमेत खुला राखिएको अर्थमन्त्री वाग्लेले स्पष्ट पारे। उनले आर्थिक रूपान्तरणको लक्ष्य प्राप्तिका लागि सबै सरोकारवाला निकायबीच विश्वास, सहकार्य र साझा प्रतिबद्धता अपरिहार्य रहेको निष्कर्षसमेत व्यक्त गरे।


