ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको उद्धार, राहत तथा पुनर्निर्माणको अवस्थाबारे तत्काल जानकारी लिन ‘रियल टाइम अपडेट सिस्टम’ निर्माण थालेको छ ।
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार बसेको उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा प्रभावित जलविद्युत् आयोजनाको पछिल्लो अवस्था नियमित रूपमा प्राप्त हुने गरी प्रणाली विकास गर्न निर्देशन दिएका हुन् । मन्त्रालयका अनुसार नयाँ प्रणालीमार्फत बाढीबाट प्रभावित १६ जलविद्युत् आयोजनाको अवस्था निरन्तर निगरानी गरिनेछ ।
प्रणालीमा आयोजनाका सुरुङभित्र तथा बाहिर रहेका श्रमिकको अवस्था, खोज तथा उद्धारको प्रगति, आवश्यक सामग्री तथा उपकरणको परिचालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको सहभागिताबारे नियमित विवरण अद्यावधिक गरिनेछ । यसबाट प्रभावित आयोजनामा भइरहेका उद्धार तथा पुनःस्थापनाका कामको वास्तविक अवस्थाबारे मन्त्रालयले तत्काल जानकारी प्राप्त गर्न सक्नेछ ।
बाढीपछि प्रभावित आयोजनामा खोज, उद्धार तथा पहुँच विस्तारका लागि एक्साभेटर, ड्रिलिङ मेसिन र विभिन्न सवारीसाधन परिचालन गरिएको मन्त्रालयले जनाएको छ । विद्युत् सेवा पुनःस्थापनाका लागि वैकल्पिक ऊर्जा सामग्रीसमेत प्रभावित क्षेत्रमा पठाइएको छ ।
बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम पनि तीव्र पारिएको छ । मन्त्रालयका अनुसार, नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा पुनःविद्युतीकरण भइसकेको छ । रसुवामा पनि विद्युत् सेवा पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
मन्त्रालयले राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी प्रभावित जलविद्युत् आयोजना तथा सबस्टेसनमा भएको क्षतिको विस्तृत आकलन गर्ने तयारी गरेको छ । क्षतिको मूल्यांकनपछि ऊर्जा पूर्वाधारको पुनरुत्थान तथा पुनर्निर्माण योजना अघि बढाइनेछ ।
मन्त्रालयका अनुसार भोटेकोशी बाढीका कारण ४०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन तथा आपूर्तिमा असर परेको छ । बाढीबाट क्षतिग्रस्त ऊर्जा संरचनाको पुनर्निर्माणसँगै विद्युत् आपूर्ति नियमित बनाउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ ।

