असोज ११, काठमाडौं ।
हेटौंडा–११ थानाभ¥याङस्थित ट्रक पार्किङ क्षेत्रमा ४२ करोड रुपैयाँमा तरकारी थोक बजार निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा हेटौंडामा तरकारीको थोक बजार निर्माण गरिने भएको हो । हेटौंडा उपमहानगरपालिकाले ३० प्रतिशत र प्रदेश सरकारको ७० प्रतिशत लगानी रहने गरी थोकबजार निर्माण गर्न लागिएको नगरप्रमुख हरिबहादुर महतले बताए ।
थोक बजारका लागि २ बिगाहा जमीन उपलब्ध गराइएको छ । थोक बजारमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूलको प्रदर्शनी कक्ष, विक्री कक्ष, प्रशानिक भवन, पार्किङ, टाढाबाट आएका किसानलाई रात्रिकालीन विश्रामगृह, अतिथिगृह लगायत निर्माण गरिने छ ।
हेटौंडा बजार क्षेत्रमा तरकारी तथा फलफूलको थोक बजार राख्दा फोहोर बढी भएको भन्दै राप्ती किनारमा थोक बजार निर्माण प्रक्रिया थालिएको बताईएको छ ।
थोक बजार निर्माणका लागि प्रदेश मन्त्रिपरिषद्को निर्णयपछि डीपीआर तयार गरिएको हो ।
संरचना निर्माणको टेण्डर प्रक्रियामा जानुपूर्व वातावरणीय प्रभाव मूल्यांकन (आईईई) गर्ने काम सकिएको छ । बागमती प्रदेश कृषि तथा सहकारी मन्त्रालयले तयार पारेको डिटेल प्रोजेक्ट रिपोर्टमा ७२ करोड रुपैयाँको थोक बजार निर्माण गर्ने भनिएको थियो । पछि नगरपालिकाले त्यसलाई संशोधन गरेर ४२ करोड रुपैयाँमा निर्माण गर्नेगरी डीपीआर तयार गरिएको बताइएको छ ।


