चैत १६, काठमाडौं ।
चीन सरकारले सहयोग दिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । आज बिहान पौने ९ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत खोप नेपाल ल्याइएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् ।
चीनले नेपालका लागि उपलब्ध गराएको भ्याक्सिन सार्स कोभ–२ भ्याक्सिन (भेरो सेल) हो । यो खोप पनि कोभिसिल्ड झैं दुई पटक लगाउनुपर्छ । भेरो सेल सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको हो । यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएको थियो । सोही भ्याक्सिन र अन्य स्वास्थ्य सहायता सामग्री पनि आज आएको हो । उक्त खोप लिन नेपाल एअरलाइन्यको वाइडबडी ३३० आइतवार दिउँसो बेइजिङतर्फ लागेको थियो ।
चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले सहायता दिन लागेको भ्याक्सिन सहितको स्वास्थ्य सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेइजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।


