Banijya News

तनहुँमै पहिलोपटक व्यावसायिक मेवाखेती सुरु

1
1.1K Shares

व्यास नगरपालिका–१३ बेलबासका कृषक वसन्त आलेले ३५ रोपनी जमिन भाडामा लिएर व्यावसायिक मेवाखेती सुरु गरेका हुन् । ३५ रोपनी जग्गामा करिब ३५ सय मेवाको बिरुवा ल्याएर रोपिएको उनले जानकारी दिए । ‘पहिलोपटक भएकाले मेवाखेती राम्रो हुन्छ कि हुँदैन भन्ने डर लागेको थियो । त्यसैले बिरुवा पनि थोरै नै लगाइयो । अहिले मेवा लटरम्मै फलेको छ । खाँदा पनि मिठो छ ।’ उनले भने, ‘बोटमा पाकेको मेवा स्थानीय बजारमा बिक्री गरेको छु । बजारभाउ पनि राम्रै पाएको छु । एकपटक मेवाको बिरुवा रोपेर हेरौँ भन्ने लागेर लगाएको हुँ, राम्रै फल्दोरहेछ ।’

पछिल्लो समय युवाहरू कृषितर्फ आकर्षित हुन थालेसँगै जिल्लामै पहिलोपटक व्यावसायिक मेवाखेती सुरु गरिएको हो । एउटै मेवा दुईदेखि तीन किलोसम्मको छ । एउटै बोटबाट एक सयभन्दा बढी मेवा फल्ने अनुमान छ । फल राम्रो लाग्ने र बिक्रीका लागि १५ दिनसम्म टिकाउ हुने भएकाले पनि मेवाखेती गरेको उनले बताए । स्थानीय जातको मेवा दुई–तीन दिनमै गल्ने भएकाले नयाँ जातको मेवाको बिरुवा लगाएको उनको भनाइ छ ।

प्रतिरोपनी वार्षिक एक हजार भाडा दिने गरी जमिन भाडामा लिएर मेवाखेती गरेका उनले आम्दानी पनि लिन थालेका छन् । दैनिक दश–पन्ध्र हजारको मेवा बिक्री गर्दै आएका छन् । मेवाखेतीका लागि करिब दश लाख रुपैयाँ खर्च भइसकेको उनले बताए ।

 

1

Scroll to Top