Banijya News

वाणिज्य बैंकहरुजस्तै लघुवित्त र सहकारी मर्ज हुन आवश्यक छ : अध्यक्ष पाठक

1
1.1K Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्र मार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको बताएका छन् । संस्थाका अध्यक्ष पाठकले अहिलेसम्म सहकारी र लघुवित्त वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह सूचना केन्द्रमा नआउने अवस्था रहेको बताए ।

 

उनले सरकारले तत्काल बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्रमार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको बताएका हुन् । उनले सरकारले एकीकृत सूचना केन्द्र बनाए अहिले सहकारी र लघुवित्तहरुले कर्जा प्रवाहमा देखिएको समस्या न्युनिकरण हुनसक्ने बताए । सहकारी र लघुवित्तबाट ऋण लिनेहरूको कर्जा सूचना केन्द्रमा हेर्न मिल्ने अवस्था नभएको भन्दै सूचना केन्द्रमा समावेश गराउने जिम्मेवारी सरकारको भएको बताए ।

यसैगरी, सहकारी र लघुवित्तबाट ऋण लिनेहरुको कर्जा सूचना केन्द्रमा हेर्न मिल्ने अवस्था नभएको भन्दै उनले सूचना केन्द्रमा समावेश गराउने जिम्मेवारी सरकारको भएको बताए । उनले वि.स.२०७४ सालमा बनेको सहकारी ऐन अहिलेसम्म कार्यान्वयन नहुँदा पनि सहकारी क्षेत्रमा समस्या आइरहेका बताए । उनले बैंक, वित्तीय संस्था र सहकारीको समेत हेर्न मिल्ने गरी एकीकृत सूचना केन्द्र बनाउन आवश्यक रहेको बताए ।
अध्यक्ष पाठकले एकीकृत सूचना केन्द्र बनाए वित्तीय संस्थाहरूलाई ऋण लगानी गर्न सजिलो बनाउने दाबी गरे । अहिले बैंक, लघुवित्त र सहकारीको ऋण लिने एकै व्यक्ति धेरै देखिएको पनि अध्यक्ष पाठकले बताए ।

साथै, बैंक, लघुवित्त र सहकारीबाट ऋण लिने तर नतिर्ने अवस्था रहेको र बैंक, लघुवित्त र सहकारीको ऋणबारे तीनवटै निकायलाई कुनै एकबाट ऋण लिएको भन्ने जानकारी नहुने अवस्था रहेको बताए । तीन निकायहरूबिच सूचना लिने दिने संरचना नै नरहेको समेत जानकारी दिए ।
उनले सहकारी विभाग, सहकारी मन्त्रालय र स्थानीय सरकारमा विभाग बनाएर सहरकारीलाई नियमन गर्ने भनिए पनि व्यवहारमा त्यस्तो नभएको बताए ।

यस्तै, उनले लघुवित्त वित्तीय संस्थाहरूको राष्ट्र बैंकले नियमनमा सञ्चालनमा रहेका संस्थाहरू अनुशासित रहेको उल्लेख गरे । राष्ट्र बैंकले नियमन गर्ने भनिए पनि आवश्यक भन्दा बढी लघुवित्त संस्था खोल्न अनुमति दिएका कारण अहिले समस्या भइरहेको उनको भनाई छ । क्षमता अनुसारको संस्थाहरू स्थापना गर्नुपर्नेबारे सरकारले सोच्न जरुरी रहेको बताए । नियमन गर्न नसक्दा धेरै सहकारी जन्मिएको उनले बताए ।

 

अध्यक्ष पाठकले ३५ हजार बढी पुगेको सहकारी संख्या अहिले केही मर्ज भएर ३० हजारमा आएको बताए । उनले ३० हजार सहकारीमा ५० प्रतिशत सहकारी मात्रै राम्रो रहेको बताए । उनले बाँकी १५ हजार सहकारी नाम मात्र भएको र के काम गरिरहेका छन् भन्ने बारेमा अन्यौलता रहेको बताए । उनले सहकारी वा लघुवित्त संस्था धेरै बनाउने भन्दा पनि गुणस्तरीय र स्तरीय बनाउनु पर्नेमा जोड दिए ।

साथै, पाठकले वाणिज्य बैंकहरु मर्ज भएजस्तै गरी लघुवित्त र सहकारीहरू पनि मर्ज हुन आवश्यक रहेको बताए । उनले भने, ‘पछिल्लो समय लघुवित्त र सहकारीमा जे समस्या देखिएको छ । वाणिज्य बैंकहरु मर्ज भएजस्तै गरी लघुवित्त र सहकारीहरू पनि मर्ज हुनुपर्छ । एउटा स्थानीय तहमा धेरै वटा संस्था आवश्यक छैन । एउटा ठाउँमा धेरै लघुवित्त र सहकारी संस्थाहरू हुँदा एउटै मानिस धेरै संस्थामा सदस्य हुने । सबै संस्थाको शेयर लिने, पैसा जम्मा गर्नुपर्ने र ऋण लिने कुराले लघुवित्त र सहकारीमा अस्थिरता पैदा गरेको छ ।’

1

Scroll to Top