धरहरामा शुरू गरिएको निःशुल्क पार्किङ बन्द गर्न भनेर पत्र आएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आक्रोशित भएका छन्।
बालेनले २ वर्ष ९ महिनामा पनि निर्माण सम्पन्न नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
निर्माणको चरणमा रहेकाले पार्किङ बन्द गराउनु पर्ने पत्र आएपछि उनले धरहरालाई सेतो टावर र केपी ओलि टावरको संज्ञा दिएका हुन् ।
उनले भने, ‘२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौंका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे’ ।’ उनले भने, ‘तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’
उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? भनेर उनले प्रश्न गर्दै भने, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन उनले आग्रह गरे । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गर्ने नीति ल्याउनु पर्ने उनको भनाइ छ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न समेत उनले आग्रह गरेका छन् । साथै, उक्त स्थानमा पार्किङ बन्द नरहेको समेत उलले जानकारी दिए ।
बालेनले भने, ‘महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ, अझै ब्यबस्थापन गर्दै लग्नेछौ, अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ, हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ,’।


