चालु आर्थिक वर्षमा मंसिरको तुलनामा पुसमा पुनः महंगी वृद्धि भएको छ । मंसिरसम्ममा ४.९५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति पुसमा बढेर ५.२६ प्रतिशत पुगेको नेपाल राष्टबैंकले जनाएको छ ।
अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्षको मुद्रास्फिति केही कम देखिए पनि मंसिरको तुलनामा भने पुसमा बढेको देखिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।
यसैगरी, २०८० पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङमा समेत क्रमशः कमी आइरहेको अवस्था छ ।
वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङको वृद्धि दरमा समेत कमी आएको छ ।


