Banijya News

अर्थमन्त्री पुनले अमेरिकाबाट धेरै लगानीकर्ता आउने वातावरण बनाईदिन अमेरिकी राजदूतसंग गरे आग्रह

1
1.2K Shares

 

आज अर्थमन्त्रालयमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँगको भेटमा अर्थमन्त्री वर्षमान पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरेका हुन् । अर्थमन्त्री पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए ।

पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताए । लगानी सम्मेलन पूर्वनिर्धारित समयमै हुने बताउँदै सरकारले त्यसको तयारीका लागि तीव्रता दिइरहेको पनि उनले उल्लेख गरे ।
राजदूत थम्प्सनले लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए । उनले अमेरिकी लगानीकर्ता नेपालमा आउने वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अर्को प्रसंगमा राजदूत थम्प्सनले संक्रमणालीन न्यायसम्बन्धी विधेयक चाँडै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउनेमा विश्वास व्यक्त गरे । भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता जनाए ।

त्यसको जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धताका लागि थम्प्सनलाई धन्यवाद ज्ञापन गरे ।

 

1

Scroll to Top