Banijya News

आगामी आर्थिक बर्षको बजेटमा कारणसहित करको दर हेरफेर हुन्छ : अर्थमन्त्री पुन

1
1.1K Shares

अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको बजेटमा करको दर हेरफेर गरिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी बजेटका कारणसहित करको दर हेरफेर गरिने बताएका हुन् ।

साथै, उद्यमी व्यवसायीहरूलाई समग्र राष्ट्रको उद्योग व्यवसाय फस्टाउने योजना लिएर समूहमा छलफलमा आउन समेत मन्त्री पुनले आग्रह गरेका छन् । उनले भने, “मेरो व्यवसायका लागि भनेर नआउनुस् समग्र राष्ट्रको उद्यम व्यवसाय फस्टाउने योजना लिएर समूहमा आउनुस् काम गर्न तयार छौँ ।”

अर्थमन्त्रालयले कुनै पनि फाइल नअड्काएको मन्त्री पुनको जिकिर छ । अर्थमा कुनै पनि फाइल नरोकिएको बताउँदै उनले सम्बन्धित मन्त्रालयबाट स्वीकृत भएर आएको फाइल पास गरेको जानकारी दिए । यद्यपि, पुँजीगत खर्च बृद्धि गर्न नसक्नु सरकारको कमजोरी रहेको मन्त्री पुनको स्वीकारोक्ति छ । एक महिनाअघि २३ प्रतिशत पुँजीगत खर्च भएकोमा एक महिनाभित्र उक्त खर्च ३० प्रतिशत पुगेको बताउँदै उनले अझै ३ महिनामा खर्च बढाउन सकिने बताए ।

आइटी क्षेत्रमा ठुलो सम्भावना रहेको बताउँदै मन्त्री पुनले आइटी उद्योगलाई प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । बन्दरगाह नचाहिने, भन्सार गइराख्न नपर्ने आइटी निर्यातबाट खर्बौ रुपैयाँ भित्राउन सकिने उनको भनाइ छ । समस्या भएको क्षेत्रहरूबारे रचनात्मक बहस गर्न र सरकारलाई आलोचनात्मक सुझाव दिनसमेत मन्त्री पुनले आग्रह गरे । राजनीतिक कारणले नीजि क्षेत्र र उद्यमी व्यवसायी आतङ्कित हुनुपर्ने अवस्था भएको बताउँदै उनले आफूलाई करेक्सन गर्नेसमेत बताए ।

अग्रज अर्थमन्त्रीहरूको राम्रो कुरा सिकेर काम गर्ने जानकारी दिँदै उनले यसमा उद्योगी व्यवसायी र नीजि क्षेत्रको सहयोग चाहेको बताए ।

1

Scroll to Top