कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटन सञ्जाल निर्माण, सिधा हवाई उडान सुरु गर्ने, र वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारी गर्ने विषयमा छलफल गरेका छन् । कम्बोडियाका पर्यटन मन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटघाटका क्रममा यस विषयमा छलफल भएको हो।
मन्त्री पाण्डेले कम्बोडियामा उत्रने बित्तिकै नेपालमा जस्तै सडकका कुनामा गणेश भगवानका मूर्तिहरू देखेको उल्लेख गर्दै दुवै देशबीच साझा तीर्थस्थल वा धार्मिक सञ्जाल निर्माणका लागि भविष्यमा सहकार्य गर्न सकिने विषयमा छलफल गरेका थिए। उनले भगवान बुद्धको नेपालमा जन्म भए पनि कम्बोडियामा द्रुत रूपमा बुद्धधर्म विस्तार भएको पाएको बताए ।
मन्त्री पाण्डेले नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान सुरु गर्न सके बुद्ध जन्मस्थल लुम्बिनीमा कम्बोडियाली धार्मिक पर्यटकहरू सहज भ्रमण गर्न सक्ने बताएका थिए। उनले कम्बोडियाको एशियाको सबैभन्दा ठूलो विमानस्थल निर्माणको बारेमा चर्चा गर्दै यसले नेपाल र कम्बोडियाबीचको भौतिक दूरीलाई छोटो बनाउने बताए।
दुवै पक्षले वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे पनि छलफल गरेका छन् । यसले दुवै देशका धार्मिक पर्यटकहरूलाई बुद्धका साझा स्थलहरू भ्रमण गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गर्दै भने, “कम्बोडिया र नेपालका इतिहास र धर्म एक अर्कासँग गहिरो सम्बन्ध राख्दछन्।” उनले नेपाल र कम्बोडियाले युद्ध र संघर्षको अवस्थाबाट गुज्रिएको स्मरण गर्दै कम्बोडियाले द्वन्द्वपछि विकासमा गरेको प्रगतिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए।
नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुरवाट दुवै देशका साझा सम्पदा र तीर्थस्थलको रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, “हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ, र हामीसँग एक समान धार्मिक सहिष्णुता र सद्भाव छ।”
कम्बोडियाली पक्षले नेपाललाई धन्यवाद दिँदै लुम्बिनीमा कम्बोडियाको स्तुपा निर्माणका लागि स्थान उपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ। साथै, नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटिको पहिचानका लागि राजदूत र कर्मचारीस्तरीय टोली गठनको आवश्यकतामा जोड दिएका छन्।
कम्बोडियाले २०२४ मा ७२ लाख अन्तर्राष्ट्रिय पर्यटकको आगमनको अपेक्षा गरेको जानकारी दिएको छ। पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिका लागि युएन टुरिजमको बृहत्तर छाता अन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको जनाइएको छ। अन्त्यमा, कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगका लागि नेपालसँग अझ नजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिवद्धता जनाएको छ। यस भेटघाटले दुवै राष्ट्रका बीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि एक नयाँ दिशा खोल्ने अपेक्षा गरिएको छ।


