कृषि तथा पशुपन्छी बिमाको प्रिमियममा सरकारले दिँदै आएको ८० प्रतिशत अनुदान राज्यको लागि टाउको दुखाइको विषय बनेको छ। समयमै अनुदान रकम भुक्तानी गर्न नसक्दा बिमा कम्पनीहरूले बिमालेख जारी गर्न समेत रोक्ने अवस्था सिर्जना हुन थालेको छ। सीमित स्रोतसाधनका बाबजुद सरकारले वर्षेनी बढ्दो अनुदानको भार थेग्न नसकेको भन्दै आलोचना भइरहेको छ।
नेपाल बिमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै कृषि तथा पशुपन्छी बिमामा १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी अनुदान भुक्तानी भएको छ। सो अवधिमा १ लाख ५६ हजार १ सय २१ वटा बिमालेख जारी हुँदा ४२ अर्ब १३ करोड रुपैयाँ बराबरको बिमांक कायम भएको थियो। यसअघि आर्थिक वर्ष २०७२र७३ मा सरकारले कृषि तथा पशुपन्छी बिमामा कुल २० करोड ९० लाख रुपैयाँ मात्रै अनुदान दिएको थियो। यसरी नौ वर्षको अवधिमा अनुदान रकम आठ गुणाभन्दा बढीले बढेको छ। यो अवधिमा सरकारले कुल ९ अर्ब ७ करोड रुपैयाँ अनुदान स्वरूप भुक्तानी गरेको छ।
अनुदानको दायित्व निरन्तर बढ्दै गएपछि बिमा विज्ञहरूले यसको संरचना परिवर्तन गर्नुपर्ने आवाज उठाएका छन्। नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले व्यावसायिक कृषि गर्नेलाई दिइँदै आएको ८० प्रतिशत अनुदान घटाएर गरिब, सीमान्तकृत र ग्रामीण भेगका किसानलाई थप प्रोत्साहन गर्नुपर्ने बताएका छन्। व्यावसायिक किसानले बिमाको महत्व बुझिसकेको र उनीहरू आफैं बिमा गर्न सक्षम हुने उनको भनाइ छ।
बिमा विज्ञ रविन्द्र घिमिरेले पनि धनी र गरिबलाई समान सहुलियत दिइएकोमा असन्तुष्टि व्यक्त गर्दै यसलाई परिमार्जन गर्नुपर्ने बताएका छन्। उनले क्षमता भएका किसानलाई कम अनुदान दिएर बिमाको पहुँच नपुगेका र यस बारे जानकारी नभएका वर्गमा लगानी गर्नुपर्ने सुझाव दिएका छन्। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत कृषि बिमाको अनुदान संघीय सरकारबाट नभई स्थानीय तहबाट वितरण गर्ने व्यवस्था गर्न सुझाव दिएको छ।
सरकारले २०६९ सालदेखि कृषि तथा पशुपन्छी बिमामा अनुदान दिन सुरु गरेको हो। सुरुमा ५० प्रतिशत रहेको अनुदान २०७१ मा ७५ प्रतिशत पुर्याइएको थियो। २०७८ सालमा केही समय ५० प्रतिशत कायम गरिए पनि पछि पुनः ८० प्रतिशत पुर्याइएको थियो। पछिल्लो समय सरकारले ५० लाख रुपैयाँसम्मको बिमांकमा ८० प्रतिशत, ५० लाखदेखि १ करोडसम्मको बिमांकमा ६५ प्रतिशत र १ करोडभन्दा बढीको बिमांकमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ।
बढ्दो आर्थिक भार र समयमै भुक्तानी गर्न नसक्दा कृषि बिमा अनुदानको वर्तमान मोडालिटीमा परिवर्तन आवश्यक देखिएको छ। विज्ञहरूले लक्षित वर्गलाई प्रोत्साहन गर्ने र व्यावसायिक किसानलाई क्रमशः अनुदान घटाउँदै लैजाने नीति अवलम्बन गर्न सुझाव दिएका छन्।


