Banijya News

भिजिट भिसा सेटिङ काण्डमा गृहमन्त्री लेखकलाई कांग्रेसको ‘क्लिनचिट’,

1
1.1K Shares

भिजिट भिसा सेटिङ प्रकरणमा संलग्नताको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकलाई नेपाली कांग्रेसले ‘क्लिनचिट’ दिएको छ। सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले लेखकमाथि कुनै संलग्नता नरहेको ठहर गर्दै राजीनामाको आवश्यकता नरहेको निर्णय गरेको हो।

बैठकमा गृहमन्त्री लेखकले प्रकरणबारे विस्तृत विवरण पेश गर्दै आफू निर्दोष भएको दाबी गरेका थिए। पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले, “हामी विश्वस्त भएका छौं, मन्त्रीको राजीनामा आवश्यक छैन,” भनेर लेखकमाथिको आरोप अस्वीकार गरे।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने विमानस्थल अध्यागमन कार्यालयमा संस्थागत भिसा कारोबार भएको प्रमाणसहित अनुसन्धान अघि बढाइसकेको छ। आयोगले अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गर्दै बिचौलियासहितको मोबाइल डेटा समेत जफत गरिसकेको छ।

भट्टराईलाई गत असोजमा गृहमन्त्री लेखककै सिफारिसमा अध्यागमनमा खटाइएको थियो। त्यसयता भिजिट भिसा सेटिङ तीव्र रुपमा बढेको आरोप लागिरहेको छ। मन्त्रालयकै सचिवालयमार्फत कर्मचारी खटनपटन भएको भन्दै सवाल उठिरहेका बेला कांग्रेसले चाँडै क्लिनचिट दिएको हो।

यता कांग्रेसभित्रै भने मतभेद चर्किएको छ। वरिष्ठ नेता डा। शेखर कोइरालालगायतका नेताहरूले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने धारणा सार्वजनिक रूपमै राखिसकेका छन्।

 

1

Scroll to Top