Banijya News

प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ: नेता पौडेल

1
1.1K Shares

राजविराज– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा तत्काल पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका हुन्।

मधेश यात्रामा निस्किएका नेता पौडेलले विघटन गरिएको प्रतिनिधिसभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउँदै लोकतन्त्र र गणतन्त्र रक्षा गर्नका लागि प्रतिनिधिसभा पुनःस्थापना जरुरी रहेको दाबी गरे। प्रतिनिधिसभा विघटनबारे संविधानको धारामा रहेर नै अदालतले फैसल गर्ने उनको विश्वास छ।


‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले विचार गरिइरहेकाले कांग्रेसले अहिले ठूलो आन्दोलन नगरेको हो। भ्रममा नरहँदा हुन्छ’, उनले भने, ‘संविधानमा जे छ अदालतले पनि त्यही गर्छ, जतिसुकै सेटिङ गरे पनि अदालतले संविधानबाहिर गएर फैसला गर्न सक्दैन।’

नेता पौडेलले आन्दोलनमा मधेशका नेताहरूको ठूलो योगदान रहेको बताउँदै ती नेताहरूको सम्मान र ऐतिहासिक ठाउँहरूको भ्रमणका लागि आफू मधेश यात्रामा निस्केको जानकारी दिए ।रासस

1

Scroll to Top