कोरोना महामारीको सबैभन्दा बढी चपेटामा पर्ने क्षेत्र मध्येको एक क्षेत्र हो ‘यातायात क्षेत्र’ । अझ बन्द भन्ने बित्तिकै पहिले स्थानमा नै यातायात क्षेत्र पर्ने गरेको छ । कोरोना संक्रमण यता पनि यो क्षेत्र विभिन्न बहानामा पटक पटक बन्दको शिकार भएको छ । काठमाडौं उपत्यकासहित देशमा विभिन्न सहरमा जारी निषेधाज्ञा केही हदसम्म खुकुलो बनाएको सरकारले निजी सवारीसाधन जोर–बिजोर गरी सञ्चालन गर्न दिएको भएपनि सार्वजनिक सवारीको अझै खुल्ने समय निश्चित छैन् ।
कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यातायात क्षेत्र टाट पल्टिने अवस्थामा पुगेको छ । अहिले यो व्यवसायमा भएको क्षतिको आँकलन गर्न सकिने अवस्था छैन । क्षति नियन्त्रण भन्दा बाहिर पुगेकाले व्यवसाय पूर्ण रुपमा ध्वस्त भएको व्यवसायीको गुनासो छ ।
यातायातमा ऋणसम्म गरेर लगानी गरेका व्यवसायीलाई आफ्नै व्यवसाय निल्नु न ओकल्नु बनाएको छ । यातायात खुलिहालेपनि बिगतको घाटा पूर्ती गर्ने लामो समय लाग्ने छ । सरकारले गरेको निषेधाज्ञाका कारण यातायात क्षेत्र टाट पल्टिने अवस्थामा पुगेको ब्यवसायी बताउँछन् ।
निजी सवारीसाधन सञ्चालन अनुमति दिने सरकार यस निर्णयप्रति सार्वजनिकि यातायात व्यवसायीहरु भने असन्तुष्ट छन् । सार्वजनिक यातायात राष्ट्रिय महासंघले निजी सवारीसाधन मात्र चलाउन दिएर सरकारले भेदभाव गरेको बताउँदै आएको छ । यातायात ब्यावसायी महासंघका महासचिब सरोज सिटौला बजार र अन्य सवारी साधन खुलाउँदा सार्वजनिक यातायात नखुलाएकोमा चिन्ता व्यक्त गर्छन् । सिटौलाले पसल सञ्चालन गर्न अनुमति दिने सरकारले सवारीसाधन किन सञ्चालन गर्ने नदिएको भन्दै गुनासो गरे ।
निषेधाज्ञा हट्ने छैन टुंगो
उपत्यकाका तीनै जिल्लाका सिडिओहरूले सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिनेबारे अहिले केही टुंगो लगाउन सकेका छैनन् । भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराई भन्छन्, ‘सार्वजनिक यातायात चल्न दिने वा नदिने अहिलेसम्म टुंगो छैन ।’
उनी आइतवार बस्ने बैठकले निषेधाज्ञाबारे पनि निर्णय गर्नेछ । कोरोना रोकथाम तथा नियन्त्रण गर्ने भन्दै उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । यो भन्दा अगाडिको लकडाउनले गर्दा यातायात क्षेत्र झन कमजोर भएको हो ।
झण्डै ११ खर्ब लगानी जोखिममा
सार्वजनिक यातायात क्षेत्रमा झण्डै ११ खर्ब भन्दा बढीको लगानी रहेको छ । जसमा ८ खर्ब रुपैँया भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रको लगानी छ । कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको थियो । त्यसयता लामो समय सार्वजनिक यातायात पूर्ण रुपमा बन्द भए । केही समय सञ्चालन हुन थालेका सार्वजनिक यातायात कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा भएपछि पुनःप्रभावित भए । लामो तथा छोटो दूरीका गरी करिब ४ लाखभन्दा बढी साना तथा ठूला सार्वजनिक यातायातका यतिखेर ग्यारेजमा थन्किएका छन् । यी सवारी लामो समय ग्यारेजमा थन्किन्दा खिया लाग्ने, बिग्रिने, चुहिने भएका छन् । सवारी साधनहरु अब कौडीको भाउमा जाने अवस्था भइसकेको छ । जसले गर्दा यस क्षेत्रमा भएको लगानी जोखिममा परेको छ । यातायात क्षेत्रमा मध्यमस्तरका लगानीकर्ताहरुले मात्रै थोरै थोरै लगानी गर्ने भएकाले सरकारको सहयोग बिना उठ्न नसक्ने महासचिव सिटौलाको भनाई छ ।
११ लाख श्रमिकको रोजिरोटी गुम्यो
देशभर सार्वजनिक यातायातसँग जोडिएका ११ लाख श्रमिक भएका र उनीहरूको रोजीरोटी गुमेकाप्रति महासंघका महासचिब सरोज सिटौलाले चिन्ता व्यक्त गरे । उनका अनुसार उपत्यकामा करिब चार लाख सवारीसाधन छन् । जसमा यात्रु चढ्ने सवारीसाधन मात्रै साढे तीन लाख रहेका छन् । यस क्षेत्रमा ११ लाख भन्दा बढी मजदुरहरुले प्रत्यक्ष रुपमा रोजगारी पाएकोमा उनीहरुको रोजागरी समेत गुमेको छ ।
छैन राहत
निषेधाज्ञा अवधिभर सबै सवारीका ब्लुबुक, लाइसेन्स नवीकरणमा पूर्ण छुट दिनुपर्ने पनि उनको माग छ । गत बिहीबार यातायात मजदुरलाई कोभिड–१९ विरुद्ध खोप व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाउनुपर्ने भनी महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेट गरी माग गरेका थिए । उनीहरुल ेभेटमा यातायात मजदुरलाई खोपको ब्यावस्था समेत गर्नुपर्ने बताए ।
मौद्रिक नीतिमा माग समेटिने झिनो आशा
यातायात व्यवसायीहरु अन्तिम बिकल्प स्वरुप मौद्रिक नीति पर्खेर बसेका छन् । बजेटमा आफ्ना कुरा नसेटको सरकारले मैद्धिक नीतिमा चै आफ्ना कुरा समेटछ कि भन्ने नै उनीहरुको माग हो । गत वर्ष नै सरकारले यातायात क्षेत्रलाई बढी प्रभावित भएको क्षेत्रमा राखेको थियो । तर यसपालि अति प्रभावित क्षेत्रमा राखी उचित राहतको व्यवस्था गर्न व्यवसायीले जोड दिदै आएका छन् ।
मौद्रिक नीतिको पूर्वसन्ध्यामा अर्थसचिव शिशिर ढुंगाना तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यातायात क्षेत्रलाई उचित राहतको व्यवस्था गर्ने आश्वासन दिएका छन् । यस्ले पनि ब्यावसायी मौद्धिक नीतिको पर्खाइमा बसेका हुन् ।


