Banijya News

मरिसकेकाले नभन्ने र बाच्नेले नजान्ने एउटा अपुरो प्रश्न: किन गर्छन आत्महत्या ?

1
1.1K Shares

रितु के.सि

काठमाडौं ।
जीवन न कसैले सोचे जस्तो हुन्छ न रोजे जस्तो । कुन बेला कस्तो मोड र कस्तो परिस्थिति आउँछ आफैँलाई थाहा हुँदैन । मानिसले हजारौँ सपनालाई अंगाल्दै जिन्दगी अगाडी बढाइ रहेका हुन्छन् । कति बेला कस्तो किसिमको बज्रपात आउँछ या जीवनमा चोट पर्दछ मान्छे लाई पत्तो समेत हुँदैन । मान्छेको मन पनि मौसम जस्तै परिवर्तीत प्रकृतिको हुन्छ । जति सुकै परिवर्तनीय भए पनि मन आखिर मान्छेको अधिनस्थ हुन्छ । हुन त दार्शनिक हरू मन लाई अधिनस्थ गर्न या नियन्त्रण मा राख्न सकिँदैन भन्छन् तर मान्छे ले चाहेमा उडीरहेको मन नियन्त्रणमा राख्न गाह्रो छैन । मानव जीवन नै यो संसारको सबैभन्दा उत्कृष्ट जीवन हो ।

जन्म र मृत्यु स्वयंसिद्द तथ्य हो जिवनको । जन्मे पछी मर्नु प्राणीहरुको प्राकृतिक नियम हो । हरेक मानिसको जीवनमा मृत्यु अपरिहार्य छ, त्यसैले त मृत्युलाई जिन्दगीको अन्तिम सत्य पनि भनिन्छ । अघिपछिको कुरा मात्र हो, मृत्युले कसैलाई छोड्दैन । जन्म र मृत्यु कती पिडादायक हुन्छ त्यो कसैलाइ अनुभव छैन । न त जन्मिएकाले आफ्नो जन्मदाको अनुभव सुनाउछन् न त मरेकाले । मरेर फेरी फर्केर आएँ भनेको सुन्न पाएको छैन । हुन त हिन्दु शास्त्रले ८४ लाख जुनी हुन्छ भनेको छ । बिज्ञान भन्छ, शक्तीको बिनाश कहिल्यै हुँदैन, बरु यो एउटा रुपबाट अर्को रुपमा परिबर्तन हुन्छ । जिवहरुको आत्मापनि एक शक्ती हो जसको अन्त्य कहिले पनि हुँदैन भन्दा त ठिकै छ, तर पनि मरेपछी पुन भेट नहुने यथार्थले गर्दा मानिसहरुको लागी मृत्यु अलि पिडादायी छ ।

मानिस जिउनका लागि हर तरहको प्रयास गर्छ । आफ्नो जीवन बचाउनका लागि कयौं मानिसहरू हदसम्मको सम्झौंता गरेको थुप्रै उदाहरण छन् । मानिसले बाँच्नका लागि अरुको ज्यान पनि लिएका छन् । तर यसका वावजुत हिजोसम्म हर तरहले जीउन चाहने व्यक्ति आज आत्महत्या गर्छ । यस्ता आत्महत्याका समाचारले आजभोली सञ्चारमाध्यम, सामाजिक सञ्जालमा बाक्लै उपस्थिति जनाउन थालेका छन् । तथापि आत्महत्या नयाँ मुद्दा भने होइन प्रत्येक समाजमा आत्महत्या हुन्छ । समाजअनुसार आत्महत्याको दर र प्रकृति मात्र फरक हुने हो । व्यक्तिले जानीबुझी विभिन्न साधनको स्वेच्छिक प्रयोग गरेर आफ्नो जीवन अन्त्य गर्नु नै आत्महत्या हो । सन् १६४२ मा सर थोमस ब्रुनेले ‘सुसाइड’ शब्दको प्रयोग गरेका थिए । आजकल आत्महत्या गर्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दैछ । किन यसरी प्रेरित भएका छन् मान्छे आत्महत्याका लागि ? आत्महत्या के सबैका लागि रोजाइ नै हो त ? के आत्महत्या गर्नेहरु सबैले आफ्नो इच्छाले नै आत्महत्या गरिरहेका छन् त ? यसरी आत्महत्याको क्रम बढिरहँदा एउटा प्रश्न सधैँ अपुरो रहने गर्दछ । आखिर किन गर्छन् मानिसहरूले आत्महत्या ? यो बहुत जटिल प्रश्न हो । मरिसकेकोले भन्दैन र बाँच्नेले जान्दैन, मात्र अन्दाज लगाउँछ ।

सुसाइडको कुनै प्लान हुँदैन । जब मानिस अस्थिरतामा फस्छ, कुनै निस्कर्ष बिहिन हुन्छ अनि उ धेरै टोलाउन थाल्छ । क्षणभरमै आफुलाइ एक्लो महसुस गर्छ र तुरुन्त आत्महत्या गर्छ । जब परिवारबाट विश्वास तोडिन्छ, विशेषगरी आमा र बाबा सङ्ग या भनौँ आफ्नो प्रगती देखी बुबा आमा खुसी हुनुभएन भने मर्न मन लाग्छ । कुनै यस्तो गल्ती जो कसैलाइ थाहा छैन, सो गल्ती यदी सबैले थाहा पायो भने म खतम हुन्छु भन्ने डरले भित्री मनमा बास गरेको छ भने त्यो मान्छे त्यहाँबाट बाहिर आउन सक्दैन र बढी टेन्सन भएको दिन त्यही सोच्दा सोच्दै आत्महत्या गर्छ । यस्तै जब मान्छे पपुलर हुन्छ, उस्को धेरै फ्यानहरु हुन्छ, त्यतीखेर कुनै आफ्नो इन्सल्ट हुने काम भएको छ र सो कुरा एडप्ट गर्न नसकेर मान्छेले सुसाइड गर्छ ।

विशेष गरी राम्रो पढ्ने युवाहरु सोचेजस्तो प्रगती गर्ननसकेर फ्रस्टेट हुन्छन्, सङ्गैका साथिहरुले प्रगती गर्ने र आफु धेरै तल परेको महसुस हुनाले पनि कतिपय युवाहरु सुसाइड गर्छन् । यस्तै अधुरो प्रेम, आर्थिक अभाव र जीवनमा असफलताजस्ता मानसिक तनावका कारणले मानिसहरू आत्महत्या गरेको देखिन्छ । उच्च जीवन शैली कायम राख्न नसक्दा, व्यापारिक घाटा, आर्थिक समस्या, आफन्तको मृत्यु, दैवीप्रकोप, आत्मसम्मान घट्दै गएको अवस्थामा पनि आत्महत्या गरेको पाइन्छ । एक्लोपन, गल्ती वा अपराध बोध, ज्यादा महत्वकांक्षा, प्रेममा धोका, दीर्घरोगी, नकारात्मक सोच, महिलाको अस्तिवमा पर्ने चोट पीडाहरु पनि आत्महत्याको कारण रहेको देखिन्छ । यसरी समस्या देखिने तर समस्याको समधान गर्न नसक्दा कतिपय मानिसहरू आफ्नो जिबनलीला आत्महत्याद्वारा समाप्त परेको भेटिन्छ ।

आत्महत्या रोकथाममा केही सरकारी संरचना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु मार्फत केही पहल गरिए पनि देशभरका जनताको लागि त्यो पर्याप्त छैन । राज्यका संरचना, सहयोगी संघसंस्थाहरु, सेवा प्रदायक, घरपरिवारका सदस्यहरुबीच एकापसमा समन्वय र सहकार्य नहुँदा आत्महत्या रोकथाममा नेपालले सोचेअनुसार उपलब्धि हासिल गर्न सकेको छैन । प्रायः आत्महत्या गर्ने प्रयासहरू विरोधाभासपूर्ण हुन्छन् र जानाजानी मर्दैनन् । थोरै आत्महत्या मात्र कुनै चेतावनी वा संकेतहरु विना पनि हुन सक्छन् । विशेषगरी हामीले यसमा ध्यानदिनुपर्ने कुरा के हो भने, आत्महत्या गर्ने कुनै पनि व्यक्तिले प्रायः शुरुमा केही न केही लक्षणहरु देखाउँछ । विभिन्न अध्ययनले मनिसहरुले आत्महत्या गर्नुपूर्व अत्यन्त धेरै वा कम सुत्ने, धेरै चिन्तित वा उत्तेजित हुने, एकान्तमा बस्न रुचाउनु, शिथिल हुनु, एकाग्र हुन नसक्नु, मृत्युको बारेमा सोच्नु वा कुरा गरिरहनु, रक्सी वा अन्य लागूपदार्थको अत्यधिक सेवन, सामाजिक कार्यमा सहभागी हुन नचाहनु वा कोहीसँग बोल्न आवश्यक नठान्नु पनि आत्महत्याको लक्षण रहेको छ ।

ती लक्षणलाई परिवार, समाज तथा साथीभाइले पत्ता लगाउन सक्यो, देखिएका लक्षणलाई गम्भीरतापूर्व लिएर हेरिदिएको खण्डमा आत्महत्याको संख्या घटाउन सकिन्छ । अर्को कुरा हामी कसरी सहयोग गर्न सक्छौं भन्ने कुरा जान्नु प¥यो । त्यो व्यक्तिलाई समाजमा घुलमिल गर्ने, गफ गर्ने, समस्या तथा कुराकानी साटासाट गर्ने, उसको मनका कुरालाई बाहिर ल्याउन कोशिश गर्ने ग¥यौं भने पक्कै पनि केही न केही फाइदा हुन्छ । गोप्य परामर्श, सुझाव, हौसला र सचेतना दिने कार्यहरू गर्नुपर्दछ । डिप्रेसनका तथा विविध कारणले गर्दा आत्महत्याका सोचाइ राखेका व्यक्तिले समयमा उपचार पाए भने मनको पीडा घट्दै जान्छ र निको हुन्छ भन्ने आशा पलाएपछि आत्महत्या गर्ने सोचाइ आउने सम्भावना कम हुन्छ ।

आत्महत्या न्यूनीकरणमा सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ । आत्महत्याको घटना सम्बन्धी समाचार प्रकाशन÷प्रसारण गर्दा सनसनी खोज पार्ने भन्दा पनि चेतना बढाउने र आत्महत्यालाई निरुत्साहित गर्ने गरी प्रस्तुत गर्नुपर्छ । आत्महत्याका समाचारलाई प्राथमिकता दिएर व्यक्तिले कसरी आत्महत्या ग¥यो भनेर विस्तृत घटना विवरण दिनुहुँदैन । एउटा व्यक्तिले आत्महत्या गर्दा अरु २५ जनाले प्रयास गरेका हुन्छन् भनिन्छ । त्यसैगरी एउटा व्यक्तिले आत्महत्या गर्दा उसको परिवार, छरछिमेक र इष्टमित्र गरी ८० जना पीडाबाट गुज्रिन्छन् भन्ने मान्यता छ । यसै कारण उनीहरुको पीडाप्रति सञ्चारमाध्यम, सोसल मिडियाहरु पनि संवेदनशील हुनुपर्दछ ।

अन्त्यमा हामीले बुझ्नैपर्ने कुरा के हो भने संसारमा समस्याको जन्म हुनुभन्दा पहिला नै त्यसको समाधानको पनि जन्म भएको हुन्छ । हरेक समस्याको समाधान छ, हामीले समस्यासँग सामना गर्न सक्नु पर्छ । आत्महत्यालाई समस्या समाधानको माध्यम बनाइनु हुँदैन । आत्महत्या गरेर गयो भने मान्छेको जीवन समाप्त हुन्छ समस्या समाधान हुँदैन । अतः समस्या समाधान गर्ने, समस्याको हल खोज्नेतिर ध्यान दिनु पर्दछ । यदि त्यसो गर्न सकिएमा कसैले पनि अनाहकमा अकालमा देह त्याग अर्थात् आत्महत्याको बाटो रोज्ने छैनन् ।

यो जन्म संयोग होइन, मातापिता, जन्मस्थान, समाज र देशका लागि केही न केही योगदान दिएर अनि प्राप्त आयु पूर्ण भोग गर्न हरेक मानिस इच्छुक हुनुपर्दछ । तथापि कतिपयलाई जीवन बोझ बन्छ । तर संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहनेछ । मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा तुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो तुवाँलो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भूललाई प्रायश्चित गर्ने मौका समेत पाइँदैन ।

भगवान् ले जीवन मात्र दिएका छैनन् । जीवन जिउने आधार हरू पनि दिएका छन् । दुख सबैको जीवनमा हुन्छ । त्यस्ता दुख हरू बाट पार पाउनको लागी भगवानले मार्ग हरू पनि दिएका छन् । सङ्घर्ष ले मान्छे लाई त्यो भैतीक सुख प्राप्तिको मार्गमा पुर्याउछ र चिन्तन र ध्यानले भगवत प्राप्ति अथवा अध्यात्मीक सुखको मार्गमा डोर्याउछ । त्यस्तो भगवात प्रदत्त जीवन प्राप्त गरिसकेपछी “जिन्दगी सङ्घर्ष हो र संघर्षनै जिन्दगीको जिउने आधार हो” भन्ने मूल मन्त्र लाई आत्मसात गरेर आफ्नो मन लाई नियन्त्रण गर्न सिक्नु पर्दछ ।

1

Scroll to Top