आर्थिक वर्ष ०७८/०७९ को प्रथम त्रैमासिक अवधिमा खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा २७ थान मुद्दा दायर गरिएको छ । दायर गरिएका मुद्दा मध्ये दुध तथा दुग्ध पदार्थका ९ वटा, मसला पदार्थका ५ वटा, खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ ५ वटा, प्रशोधित पिउने पानीका ३ वटा, चियाका २ वटा, सोयाससको १ वटा, तेलको १ वटा, र दानाको १ वटा गरी जम्मा २७ वटा खाद्य पदार्थका रहेको विभागले जनाएको छ।
ती २७ थान मुद्दाहरूमध्ये ११ वटा मुद्दाहरू दूषितका, ९ वटा मुद्दाहरू न्यून गुणस्तरका, ६ वटा मुद्दाहरू लेबल लगायतका विवरण नमिलेका, तथा १ वटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धी थिए । खाद्य ऐन तथा नियम अनुसार विभागले आठ सय ५२ नमूना संकलन गरेर परीक्षण गरेको छ। नूना परीक्षण गर्दा ६.६८ प्रतिशत नमूना अखाद्य रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलेका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए।
संकलित नमुनाहरूमध्ये खाद्यान्न/दलहनजन्यका १३१ वटा, तेल तथा घ्यूजन्यका ९४ वटा, फल तथा सागपात जन्य पदार्थका ७४ वटा, दाना पदार्थका ४५ वटा, मसलाका ४० वटा, चिया कफीका २८ वटा, दुध तथा दुग्ध पदार्थका २१ वटा, प्रशोधित पिउने पानीका ४० वटा, कन्फेक्सनरिका १६ वटा नमुनामध्ये ३६ वटा नमुना नराम्रो पाइएको हो । सोमध्ये खाद्यान्नका ८ नमुनाहरू, प्रशोधित पिउने पानीका ७ नमुनाहरू, दुध तथा दुग्ध पदार्थका ४ नमुनाहरू, दाना पदार्थका ४ लगायतका अन्य खाद्य पदार्थका नमुनाहरू नकरात्मक थिए ।
खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दाहरू सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा दायर हुने व्यवस्था रहेको छ । बजारमा अखाद्य वस्तुको बिक्री बढेको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाई गरेको जनाएको छ। स्वदेशमा उत्पादन भएका तथा विदेशीबाट आयातित खाद्य वस्तु समेत गुणस्तर मापदण्ड विपरित भेटिएपछि ६१ खाद्य पदार्थका कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरिएको छ।


