Banijya News

सहकारीमा सन्दर्भ ब्याजदर लफडा, सहकारीमा पनि ‘बेस रेट’ माग

1
1.2K Shares

सन्दर्भ ब्याजदर मुद्दालाई लिएर यतिखेर फेरि सहकारी क्षेत्रमा लफडा चलेको छ । सहकारी अभियन्ता र व्यवसायीहरू सहकारीको सन्दर्भ ब्याजदर समयसापेक्ष कम्तिमा पनि १६.२२ प्रतिशत पु¥याउनुपर्ने लबिङमा लागेका छन् । सन्दर्भ ब्याजदर (रेफरेन्स इन्ट्रेस्ट) सुझाव उपसमितिले सहकारीको ब्याजदर १६.२२ प्रतिशत कायम गर्न सिफारिस गरेको छ ।

यता नियामक सहकारी विभाग र राष्ट्र बैंक भने उक्त माग सम्बोधन नगर्ने प्रयत्नमा लागेका छन् । जसले यतिखेर सहकारी व्यवसायी, अभियन्ता र नियामकबीच नै तिक्तता बढेको छ । आफूहरूको माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने सहकारी अभियन्ताहरूले चेतावनी दिइसकेका छन् ।

‘अब अरू उपाय नै छैन । जसरी हुन्छ ः सहकारीको सन्दर्भ ब्याजदर बढ्छ, बढ्नुपर्छ । अन्यथा अभियान अघि बढ्छ, हामी संघर्षमा उत्रिन्छौँ,’ राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले रातोपाटीसँग भने, ‘अहिलेको सन्दर्भमा सहकारीको सन्दर्भ ब्याजदर अधिकतम १७ प्रतिशत पु¥याउन आवश्यक देखिएकोले सोही माग गरिएको हो ।’

नियामक सहकारी विभागले अभियन्ताहरूलाई ब्याजदरको विषयमा छलफल गर्न मंगलबार (आज) बोलाएको छ । सन्दर्भ ब्याजदर समिति संयोजकसमेत रहेका सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले दिउँसो १ बजे बस्ने गरी संयुक्त बैठक बोलाएका हुन् । आजै बस्ने बैठकमा सन्दर्भ ब्याजदर वृद्धिबारे घनिभूत छलफल हुने र एउटा निष्कर्षमा पुग्ने अभियन्ताहरूले बताएका छन् । तर, ब्याजदर बढ्नेमा विश्वस्त हुने अवस्था भने नरहेको एक सहकारकर्मीले बताए । हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत कार्यान्वयनमा छ ।

व्याप्त तरलता अभावबीच बैंक तथा वित्तीय संस्थाहरूले फागुन महिनाका लागि निक्षेपको ब्याजदर बढाएर अधिकतम ११.०३ प्रतिशतसम्म पु¥याएका छन् । यसको परोक्ष असर सहकारीमा पनि परेको हो । यतिखेर सहकारी अभियन्ताहरू बैंकहरूले नै निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिइसकेकाले सहकारीबाट पूँजी पलायन हुने डरमा छन् ।

‘अहिले बैंकहरूले निक्षेपमा घोषित रूपमै अधिकतम ११.०३ प्रतिशत ब्याजदर ‘अफर’ गरिसकेको अवस्था छ । अझ भित्रभित्रै १२–१३ प्रतिशतसम्म दिएको बुझिएको छ । यस्तो अवस्थामा सहकारीले चाहिँ १४.७५ प्रतिशतमा नै कर्जा दिनुपर्ने ? यो कहाँको न्यायोचित व्यवहार हो ?’ सन्दर्भ ब्याजदरको असमान व्यवस्थाप्रति व्याप्त असन्तुष्टि पोख्दै जिल्ला सहकारी संघ, ललितपुरका अध्यक्ष माधव खड्काले प्रतिप्रश्न गरे ।

अहिलेको सन्दर्भमा सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १७ प्रतिशत पु¥याउनुपर्ने उनको पनि माग छ । ब्याजदर वृद्धिको होडमा भन्दा पनि अहिले सहकारीको शाख बचाउन सन्दर्भ ब्याजदर वृद्धि गर्नुपर्ने अभियन्ताहरूले माग गरेका छन् ।

सहकारी अभियन्ताहरूले अब बैंक तथा वित्तीय संस्थाहरूमा जस्तै सहकारी क्षेत्रमा पनि आधार दर (बेस रेट) हुनुपर्ने माग गरेका छन् । सन्दर्भ ब्याजदरभन्दा पनि संस्थाको कारोबार, खर्च र नाफाको हिसाबमा आधारदर तोक्न पाउनुपर्ने उनीहरूको माग छ ।

‘बढ्दा ह्वातै बढ्ने र घट्दा पनि ह्वातै घट्ने वा ब्याजदर स्थिर रहने भन्दा पनि कारोबारको स्थिति हेरेर स्वःनिर्धारण प्रणालीलाई मान्यता दिनुपर्छ भन्ने हाम्रो माग हो । जुन अन्य बैंक तथा वित्तीय संस्थामा लागू हुन सक्छ भने सहकारीमा किन हुन सक्दैन ?’ काठमाडौँ जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङले भने ।

सोही प्रणालीअनुसार अब सन्दर्भ ब्याजदर नभई सहकारीमा पनि आधारदरको व्यवस्था गरिनुपर्ने माग राखिएको तामाङले बताए । हाल सहकारीको औसत आधारदर ११ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतको स्प्रेडदर (कर्जा र निक्षेपको ब्याजदरको अन्तर) जोड्दा १७ प्रतिशत पुग्ने देखिन्छ । सहकारी ऐन, २०७४ ले नै सहकारीको स्प्रेडदर ६ प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरेको छ ।

1

Scroll to Top