सर्लाहीको फुलजोरमा आइतबार यात्रुबाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ । बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।
वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस फुलजोर खोलाको बार भत्काएर खोलामा खस्दा दुर्घटना भएको हो ।
गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । दुर्घटनाबारे थप विवरण संकलनको काम भइरहेको जानकारी दिए ।


