वीरगञ्ज सवारीसाधन आयात हुने मुख्यनाका भएपनि एक सातायता गाडी आयातमा समस्या देखिएको छ । सरकारले गाडी आयातमा गरेको कडाइको असरले वीरगञ्ज भन्सारमा गाडी आयातमा समस्या देखिएको ।
नेपाल राष्ट्र बैंकले विलासी वस्तु आयातमा गरेको कडाइ र बैंकमा लगानीयोग्य रकम अभावका कारण गाडीको जाँचपास रोकिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेल बताउँछन् । उनी भन्छन्,- ‘भन्सारको यार्ड र रक्सौलमा करीब १ हजार नयाँ गाडी थन्किएका छन् । तर, एक हप्तायता कुनै आयातकर्ताले जाँचपास गराएका छैनन्,’।
वीरगञ्ज नाकाबाट विलासीबाहेकका वस्तुको आयात पनि उल्लेख्य परिमाणमा घटेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।
आयात घटेसँगै वीरगञ्ज भन्सारको राजस्व पनि प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को चैतको राजस्व लक्ष्य पूरा नहुने देखिएको छ ।
विदेशी मुद्रा सञ्चितिमा दबाब भएको भन्दै त्यसको असर न्यूनीकरण गर्न आयात घटाउने नीति लिएको हो । बैंकहरूले अन्य वस्तुका लागि समेत एलसी खोल्न छोडेका छन् । यसले व्यापारमा अन्योलता बढाएको व्यवसायी राजेश क्याल बताउँछन् । बैंकले गाडीमा कर्जा दिन छाडेका छन् । माग नभएपछि आयातकर्ताले भन्सारको यार्ड र भारतीय सीमावर्ती शहर रक्सौलका गोदाममा गाडी थन्क्याएर राखेका हुन् । भन्सार यार्डमा आइसकेका गाडीसमेत जाँचपास भएका छैनन् ।


