भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम धनुषाका कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झा विरुद्ध अदालतमा मुद्दा दायर भएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा पक्राउ परेका निमित्त कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर गरेको छ ।
जग्गा सम्बन्धी हक सफा मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई ५ लाख घुस लिइसकेको अवस्थामा चैत २८ गते पक्राउ गरेको थियो ।
झाको यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले सोही ऐनअनुसार जरिवाना र कैद सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।


