आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अगाडि देखिएका छन् । गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो ।
अन्य दुई क्षेत्रमा भने मतगणना शुरु हुन सकेको छैन। बारा–२ मा आज मतगणना शुरु हुने भएको छ। यसका लागि बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।
त्यस्तै, चितवन–२ मा पनि आजदेखि मतगणना हुने भएको छ। आइतबार राति सर्वदलीय बैठक बस्न सकेन। आज सर्वदलीय बैठक बोलाएर मतगणनाबारे निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । दुवै ठाउँमा मतपेटिका भने राति नै संकलन गरिसकिएको छ। सर्वदलीय बैठक बसेर निर्णय गरेसँगै मतगणना शुरु हुनेछ।


