यही फागुन १२ गते चितवनको रत्ननगर १० स्थित एकता शिशु निकेतनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल मृत भेटिइन्।
शालिन चार वर्षको उमेरदेखि रत्ननगर १२ स्थित मावलीमा बस्दै आएकी थिइन् । उनी दुई वर्षदेखि मात्रै उक्त स्कुलको होस्टेलमा बस्दै आएकी थिइन् ।
उनका बुवा/आमाले १० वर्षअघि सम्बन्धविच्छेद गरेका थिए । उनकी आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमै घरजम गरिरहेकी छिन् । उनका बुवा काठमाडौँ बसुन्धरामा कान्छी श्रीमती साथ बसिरहेका छन् ।
शालिनले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन् । त्यसमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएको छ । आत्महत्याको दोष उनले कसैलाई नदिई आफूले सबैलाई ‘खुसी’ राख्न नसकेको भाव ‘सुसाइड नोट’ मा देखिन्छ ।
उक्त नोटका आधारमा उनले आत्महत्या गरेको हो भन्ने प्रारम्भिक अनुमान हो । सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ । किनभने, उनका बुवा/आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन् ।
चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आफ्नो पेशागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको छ, वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने छ ।’अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू आइनसकेकाले अनुसन्धान कार्यमा सहयोग गर्न पीडित परिवार तथा आम सरोकारवालासँग अनुरोध गरेका छन् ।
प्रारम्भिक अनुसन्धानमा १४ वर्षीया छात्रा होस्टेलमा अन्य साथीहरूसहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । बाहिर आएजस्तो उनको बलात्कारपछि हत्या भएकोतर्फ अहिलेसम्म कुनै तथ्यले साथ दिएका छैनन्।
तर, उनको आत्महत्या नभएर बलात्कारपछि हत्या भएको भन्दै आफन्तले न्यायका लागि आवाज उठाएका छन्।
मृतकका बुबा दीपेन्द्र पोखरेलका अनुसार घटना लुकाउन विद्यालयले पैसाको प्रलोभन दिएको थियो। उनी भन्छन्, छोरी मृत भेटिएको अघिल्लो दिनमात्रै मेरो फोनमा कुरा भएको थियो। होस्टल वार्डेनले कुटपिट गर्ने र टर्चर गर्ने कुरा सुनाएकी थिइन्। होस्टलमा ६ बजे नै खाना खानुपर्ने हुँदा रातिसम्म पढ्न बस्दा भोक लाग्ने र खाने कुरा नभएको सुनाएकी थिइन्। पोखरेलका अनुसार परिवारले शालिनका लागि पठाएको सामान र पैसासमेत होस्टल वार्डेनले नै लुकाउने गरेका थिए ।
घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै देशभरि आवाज उठेको छ।
तर, हत्या वा आत्महत्या रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीको भनाइ छ।
‘परिवारले यहाँ पोष्टमार्टम गर्न नमानेकाले शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेका छौं,’ प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले भने, ‘रिपोर्ट आएपछि थप तथ्यहरू खुल्नेछन् ।’
पोष्टमार्टमले मृत्यु के कसरी भयो भन्ने यकिन गर्न मद्दत गर्दछ । त्यसमा अस्वाभाविक मृत्यु देखिए अनुसन्धानले अर्को मोड लिन्छ ।
यसैगरी, मृतकको भिसेरा, मुटु, कलेजो र फोक्सो सहित शरीरको फरेन्सिक जाँच गरिएको छ । त्यसपछि शरीरमा कुनै चोटपटक, बलात्कार वा ज्यान मार्नेसम्मको घातक प्रयास भएको छ छैन पत्ता लाग्छ ।
परिवारका सदस्यले शालिनको हत्या भएको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा तीन जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
जाहेरी पर्नेहरूमा प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, भाइस(प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय वार्डेन कमल शर्मा पौडेल छन् ।


