सेयरको भित्री कारोबारलाई आफ्नो फाइदा अनुसार प्रयोग गरेको आरोपमा पहिलो कैद र क्षतिपूर्तीको सजाय सुनाएको छ । विशेष अदालतले सेयरको भित्री कारोबार (इन्साइड ट्रेडिङ) का आरोपी गुरुप्रसाद न्यौपानेलाई २ वर्ष कैद सजाय सुनाएको छ । बिगो र जरिवाना गरी करिब ६ करोड रूपैयाँबराबर रकम असुल्नुपर्ने ठहर पनि अदालतले गरेको छ ।
अध्यक्ष भएको वेला रिडी हाइड्रोपावरमा भित्री कारोबार गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले गत कात्तिक २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गत चैत ७ गते नै उनी दोषी ठहर भइसके पनि अदालतले आइतबार सजाय निर्धारण गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार न्यौपानेले आफै अध्यक्ष रहेको कम्पनीको भित्री सूचनामा भएको पहुँचको दुरुपयोग गरी गैरकानुनी रूपमा १ करोड ९९ लाख १० हजार रूपैयाँ लाभ लिएको ठहर गरेको छ । यो बिगो रकमसँगै यसको दोब्बरले हुने ३ करोड ९८ लाख २० हजार रूपैयाँ जरिवाना पनि हुने फैसला सुनाएको छ । यो सबै रकम जोड्दा ५ करोड ९७ लाख तिर्नुपर्ने देखिएको छ ।
उनी ७३ वर्षका ज्येष्ठ नागरिक भएकाले २ वर्ष कैद ठहर भए पनि ५० प्रतिशत छुट पाउने भएकाले १ वर्ष मात्रै कैद गर्न पनि फैसलामा भनिएको छ । सम्पत्ति शुद्धीकरण विभागले उनका विरूद्ध गत कात्तिकमा मुद्दा दायर गरेको थियो ।


