भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट मोडमा रहेको ज्योति प्लाइ कार्पेट कारखानामा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार गए राति आगलागी हुँदा करिब दुई करोड रुपैयाँको क्षति भएको वडाध्यक्ष सोम प्रधानले जानकारी दिनुभयो । विद्युतसर्ट भएर आगलागी हुँदा कारखानामा रहेका दुई जना घाइते भएका छन्।
आगो निभाउने क्रममा रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ घर भई हाल दुवाकोट बस्ने २३ वर्षीय बुद्ध नारायण श्रेष्ठ सामान्य घाइते छन्। त्यस्तै भारतको बंगाल घर भई सोही ठाउँमा काम गर्ने २९ वर्षीय मनु उर्वा गम्भीर घाइते छन्।
उनलाई ईवामुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट थप उपचारको लागि कीर्तिपुर अस्पतालमा लगिएको छ।
भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका सात वटा दमकल, चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा आइतबार बिहान ८ बजे आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने आध दर्जन मेसिनहरु र एउटा गाडी जलेर नस्ट भएको छ । गएराति साडे ११ वजे देखि लागेको आगलागी बिहान करिब ८ बजे नियन्त्रणमा आएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको थप विवरण भने अनुसन्धानपछि आउने प्रहरीको भनाइ छ ।


