Banijya News

नबिल बैङ्कको जलविद्युत क्षेत्रमा झण्डै ७१ अर्ब लगानी

1
1.2K Shares

नेपालमा आन्तरिक खपत र निर्यात दुवैका लागि तुलनात्मक रूपमा लाभदायी मानिएको जलविद्युत क्षेत्रमा बैंकहरूको लगानी निरन्तर बढ्दै गएको छ। विशेषगरी निजी क्षेत्रबाट निर्मित जलविद्युत आयोजनाहरूमा कुल लगानीको ७० देखि ७५ प्रतिशतसम्म बैंकहरूले लगानी गरेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार, निजी जलविद्युत आयोजनाहरूमा बैंकहरूको कुल लगानी ४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।

यसै सन्दर्भमा, नबिल बैंकले जलविद्युत क्षेत्रलाई आफ्नो प्रमुख लगानीको क्षेत्रका रूपमा स्थापित गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीका अनुसार, नबिल बैंकले हालसम्म ५८ वटा जलविद्युत आयोजनामा ७१ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। यी आयोजनाहरूको कुल क्षमता २ हजार ९ सय २८ मेगावाट रहेको छ। यो आँकडाले बैंकिङ क्षेत्रबाट जलविद्युतमा भएको कुल लगानीको झन्डै १७ प्रतिशत हिस्सा नबिल बैंकले ओगटेको देखाउँछ, जसमा जलविद्युत क्षेत्रका लागि स्वीकृत भएका कर्जासमेत समावेश छन्।

ज्ञवालीले नबिल बैंकले जलविद्युत आयोजनामा लगानीको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको बताएका छन्। बैंकले ०.९९ मेगावाटको अविरल जलविद्युत जस्ता साना आयोजनादेखि ९०० मेगावाटको अरुण-३ जस्ता ठूला आयोजनाहरूसम्म लगानी विस्तार गरेको छ। विभिन्न क्षमताका यी आयोजनाहरूमा नबिलले ६ करोड ५० लाखदेखि ४ अर्ब ४८ करोड रुपैयाँसम्म लगानी गरेको छ।

आजभन्दा ४१ वर्षअघि निजी क्षेत्रकै पहिलो बैंकका रूपमा सञ्चालनमा आएको नबिल बैंक (तत्कालीन नेपाल अरब बैंक) जलविद्युतमा लगानी गर्ने पहिलो बैंक पनि हो। विक्रम सम्बत १९६८ सालमा नेपालको पहिलो फर्पिङ जलविद्युत आयोजना निर्माण भएपछि, ठूला जलविद्युत आयोजनाहरू प्रायः विदेशी दातृ निकाय र लगानीकर्ताहरूबाट मात्र बन्दै आएका थिए। तर, २०५५ सालमा नबिल बैंकले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा लगानी गरेर निजी क्षेत्रको ऊर्जा विकासमा नयाँ अध्यायको सुरुवात गर्‍यो। यो आयोजना निजी क्षेत्रबाट विकास भएको एक मेगावाटभन्दा ठूलो क्षमताको पहिलो आयोजना थियो।

ज्ञवालीका अनुसार, नबिल बैंकले सुरुदेखि नै जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको छ र यो साख आजसम्म पनि कायम राखेको छ। उनले भनेका छन्, “हामीले पुरानो साख जोगाएका मात्र छैनौं, त्यसलाई थप अगाडि बढाइरहेका पनि छौं।”

हाल नेपालमा दैनिक ३ हजार ६ सय मेगावाट जलविद्युत उत्पादन भइरहेको छ, जसमध्ये निजी क्षेत्रबाट निर्मित आयोजनाहरूको उत्पादन क्षमता २ हजार ९ सय मेगावाट बराबर छ। नबिल बैंकले लगानी गरेका मुख्य जलविद्युत आयोजनाहरूमा १०६ मेगावाटको जगदुल्ला जलविद्युत, ७३ मेगावाटको सानिमा मध्य तमोर, ४० मेगावाटको माथिल्लो चमेलिया र ३७ मेगावाटको त्रिशूली-३ बी प्रमुख छन्।

यी आयोजनाहरूमा नबिल बैंकको लगानी क्रमशः यसप्रकार रहेको छ: जगदुल्ला जलविद्युतमा ४ अर्ब ४६ करोड रुपैयाँ, सानिमा मध्य तमोरमा १ अर्ब ६७ करोड रुपैयाँ, माथिल्लो चमेलियामा २ अर्ब १४ करोड रुपैयाँ र त्रिशूली-३ बी मा २ अर्ब ५० करोड रुपैयाँ।

नेपालको पहिलो संयुक्त लगानीको बैंकका रूपमा नबिल बैंक सरकारी बैंकहरू मात्र सञ्चालनमा रहेको बेला स्थापना भएको थियो। ज्ञवालीका अनुसार, यसले नेपाली समाजमा सरकारी जागिरको अत्यधिक मोह रहेको समयमा युवाहरूलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न ठूलो योगदान पुर्‍याएको छ। यसबाहेक, नबिल बैंकले नेपालमा डिजिटल बैंकिङ भित्र्याउन र सरकारलाई कर तिर्नमा समेत अग्रणी भूमिका खेलेको छ। कुनै भौतिक शाखा कार्यालयबिना पूर्ण रूपमा डिजिटल प्रविधिबाट बैंकिङ सेवा दिने ‘निओ बैंक’ को सुरुवात पनि नबिलले नै गरेको उनले जानकारी दिए।

बैंकले केही वर्षदेखि नेपालको दिगो विकास लक्ष्यलाई आत्मसात गर्दै आएको छ र यो लक्ष्य परिपूर्तिका लागि आफ्नो कारोबारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्तहरू अनुसरण गरिरहेको छ। वातावरण संरक्षण, सामाजिक समावेशीकरण, उत्तरदायी लगानी प्रवर्द्धन र वित्तीय साक्षरता विस्तारमा पनि बैंकले जोड दिएको ज्ञवालीको भनाइ छ।

नेपालको बैंकिङ क्षेत्रमा ठूला व्यवसायीलाई मात्र कर्जा दिएको आरोप लाग्ने गरे पनि नबिल बैंकले थोरै रकम लगानी गरेर व्यवसाय सुरु गर्न चाहने नवउद्यमीहरूलाई पनि साथ दिँदै आएको ज्ञवालीले बताए।

1

Scroll to Top