नेपाल विद्युत प्राधिकरणले २२० देखि ४०० केभी क्षमताका चार ठूला प्रसारण लाइन निजी साझेदारीमा बनाउने भएको छ । सरकारी तवरबाट मात्र ठूला विद्युत प्रसारण लाइन बनाउन नसक्ने अवस्था आएपछि गत आर्थिक वर्षको बजेटमा सरकारले निजी क्षेत्रलाई खुला गरेको थियो ।
सरकारले ल्याएको योजनाअनुसार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटडले गत आर्थिक वर्षमा आधा दर्जन नदी करिडोरमा निजी साझेदारीमा ठूला प्रसारण लाइन निर्माण अघि बढाएको छ ।
प्रस्तावित प्रसारण लाइन बनाउन ३२ करोड अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको छ । लाइनको लम्बाइ तीन सय २२ किलोमिटर छ ।
प्राधिकरणले न्यूखिम्ती–ढल्केबर ४०० केभी, अरुण हब इनरुवा ४०० केभी, तिलङा–दूधकोसी–ढल्केबर ४०० केभी र लप्सिफेदी–तीन पिपले २२० केभी प्रसारण लाइन निजी साझेदारीमा बनाउन लागेको हो ।
वार्षिक आवश्यक आम्दानी (एआरआर) मा आधारित आफैँ निर्माण सञ्चालन र हस्तान्तरण (बुट) खाकामा बनाउन आशयपत्र मागेको प्राधिकरणले जनाएको छ । प्रस्तावित न्यूखिम्ती–ढल्केबर प्रसारण लाइनको लम्बाइ ८० किलोमिटर हुनेछ ।
क्वाड माउज कन्डक्टर हुने उक्त प्रसारण लाइन बनाउन ८ करोड डलर (करिब साढे आठ अर्ब) रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस्तै अरुण हब इनरुवा लाइन बनाउन पनि क्वाड मुज कन्डक्टर जडान गरिने भएको छ ।
यो लाइनको लम्बाइ ९४ किलोमिटर रहेको छ । यो लाइन बनाउन पनि ८ करोड डलर ( करिव आठ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको छ । तिलंगा–दूधकोसी–ढल्केबरको लम्बाइ ११८ किलोमिटर छ ।
यसमा पनि क्वाड मुज कन्डक्टर जडान गरिने भएकोे छ । यो लाइन बनाउन १४ करोड २० लाख डलर (साढे १५ अर्ब) रुपैयाँ लाग्ने प्राधिकरणले जनाएको छ ।
लप्सिफेदी–तीनपिपले लाइनको लम्बाई ३० किलोमिटर रहेको छ । ट्विन मूज कन्डक्टरको जडान गरिने प्रस्तावित लाइन बनाउन एक करोेड ८० लाख डलर (झन्डै दुई अर्ब रुपैयाँ) लाग्ने अनुमान प्राधिकरणले गरेको छ ।
पीपीपी मोडल भने पनि प्राधिकरणले लगानीको ढाँचा भने खुलाएको छैन ।
गत वर्षदेखि प्रसारण ग्रीड कम्पनीले हाइटारदेखि शितलपाटीसम्म ४ सय केभी प्रसारण लाइन साझेदारीमा बनाउन लागेको छ । प्रस्तावित तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन बनाउन निजी साझेदारीमा पहिलो पटक कम्पनी स्थापना भएको छ ।
२२० केभी क्षमताको प्रसारण लाइन बनाउन तमोर ढुंगेसाँघु पावर ट्रान्समिसन कम्पनी लिमिटेड स्थापना भएको छ । प्रसारण ग्रिड कम्पनीले माथिल्लो अरुण नदी र सहायक नदी करिडोरमा निर्माणधीन आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारणका लागि साझा लाइन बनाउन प्रक्रिया अघि बढाएको छ ।
ग्रिड कम्पनीको अगुवाइमा निजी क्षेत्रको साझेदारीमा लाइन बनाउने काम अघि बढेको हो । प्रसारण लाइन आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ र ७ भएर बग्ने तमोर नदी करिडोरमा निर्माण हुनेछ । स्थापना भएको प्रसारण लाइन कम्पनीमा क्रिष्टल पावर डेभलपमेन्ट, रेमिट हाइड्रो लिमिटेड, सिम्बुआ रेमिट हाइड्रो लिमिटेड र युनाइटेड हाइड्रोपावर लिमिटेडको स्वपुँजी लगानी हुने भएको छ ।
३५ किलोमिटर लामो प्रसारण लाइन र सबस्टेशन बनाउन ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये संस्थापककको ३० र बाँकी ७० प्रतिशत ऋण लगानी हुने भएको छ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । बाँकी १ अर्ब रुपैयाँ संस्थापकहरुको स्वपुँजी लगानी हुने भएको छ । कम्पनीले सर्वसाधारणलाई सेयर (आईपिओ) पनि निष्कासन गर्नेछ । गत पुस २ गते तमोर–ढुंगेसाँघु २२० केभी प्रशारणलाइन निजी क्षेत्रसहितको लगानीमा निर्माण हुनेगरी राष्ट्रिय प्रसारण ग्रिड, एचआईडीसीएल र निजी क्षेत्रका पाँच प्रवद्र्धक कम्पनीबीच प्रसारण लाइन बनाउने सम्झौता भएको थियो । ७७.५ मेगावाटको घुन्सा खोला र ७० मेगावाटको सिम्बुवाखोला जलविद्युत आयोजना एचआईडीसीएल, विद्युत उत्पादन कम्पनी लिमिटेड र विद्युत प्राधिकरणले साझेदारीमा आयोजनाहरु आगामी वर्षबाट निर्माण लैजाने सम्झौता भएको छ ।


