राष्ट्रियसभा आजको बैठकमा सदस्यहरुले तराई-मधेसका क्षेत्रमा खडेरीका कारण प्रभावित किसानका समस्या समाधान गर्न तथा समयमै मल बीउको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा सांसदहरुले प्रभावित किसानलाई किसानलाई तत्काल राहत प्याकेज घोषणा गर्न र प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि विपद् उत्थानशील पूर्वाधार निर्माण गर्न आग्रह गरे।
नेपाली कांग्रेसकी सांसद कमलादेवी पन्तले नेपाल एयरलाइन्सको विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाको पूर्णपाठले औँल्याएका ‘चयनमुखी दृष्टिकोण’ अपनाइएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।
सांसद पन्तले राज्यका प्रमुख अंगको विश्वसनीयता दिन प्रतिदिन खस्कँदै गएकामा चिन्ता व्यक्त गरिन्। ‘संस्थागत विश्वसनीयता घट्दै गएको छ, सेवा प्रदायक र सेवाग्राहीको बीचमा विश्वास छैन’, उनले भनिन्, ‘सरकार मातहतका निकायले कमजोरी गरे कारबाही गर्ने कार्यपालिकाले हो, तर मन्त्रीहरुका बारेमा छ्याप्छ्याप्ती आइरहेका भिडियोका बारेमा हामी बोल्ने कि नबोल्ने, कोही कारबाहीमा पर्ने कोहीले उन्मुक्ति पाउने भन्ने आशंका बढ्दै गएको छ।’


