विश्व बैंकले नेपाललाई दिँदै आएको विकास ऋणको ब्याजदर दोब्बर बढाएको छ । हालसम्म शून्य दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋण लिँदै आएकामा अब १ दशमलव ५ प्रतिशत ब्याज तिर्नुपर्नेछ । सन् २०२४ जुलाईदेखि यो व्यवस्था लागू भएको हो ।
नेपालले विकास ऋण लिनुअघि अब रणनीतिक सोच र प्राथमिकता स्पष्ट गर्नुपर्ने आवश्यकता बढेको देखिन्छ । ऋणको सर्त कडा हुँदै जाँदा सहयोगको गुणस्तर र प्रतिफलमा केन्द्रित भएर काम नगरे आवश्यक रकम सहजरूपमा प्राप्त नहुन सक्ने अवस्था देखिएको छ ।
सोमबार अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी कार्यक्रममा अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले उक्त जानकारी दिएका हुन् ।
शर्माका अनुसार नेपालले हालसम्म विश्व बैंकबाट लिँदै आएको अधिकांश ऋण ४० वर्षभित्र तिर्ने सर्तमा उपलब्ध हुँदै आएको थियो । नयाँ व्यवस्थाअनुसार अब यस्तो ऋणको परिपक्वता अवधि ३० वर्षमा झारिएको छ, जसमा २४ वर्ष कार्यान्वयन अवधि र ६ वर्ष ग्रेस पिरियड हुनेछ । यसअघि यस्तो अवधि ४० र ३८ वर्षे हुन्थ्यो ।
किन बढ्यो ब्याजदर ?
नेपाललाई विश्व बैंक समूहअन्तर्गतका अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले मात्र ५० प्रतिशतभन्दा बढी ऋण दिएका छन् । आव ०८०/८१ सम्म आइडिएसँग ऋण दायित्व ६ खर्ब १२ अर्ब ३३ करोड छ भने आइएमएफको ६३ अर्ब २७ करोड छ । प्रतिव्यक्ति आय बढेर ऋण तिर्न सक्ने क्षमता बढेकाले ब्याजदर बढाएको हो । विगतको सम्झौतामा नेपालको प्रतिव्यक्ति आयमा सुधार हुनासाथ ऋणको ब्याजदर पनि बढाउने सर्त कार्यान्वयन गरेको विश्व बैंकको भनाइ छ ।


