Banijya News

विधान संशोधन प्रस्तावमा भदौ १० गतेभित्र सुझाव दिन एमालेको आग्रह

1
1.1K Shares

नेकपा (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह गरेको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि-१२) मा केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखित रूपमा सो अवधिभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्ने उल्लेख छ ।

अपानि-१२ मा मातहतका कमिटीबाट प्राप्त सुझावउपर विधान महाधिवेशनपूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइने उल्लेख छ । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव प्रतिवेदन प्रस्तुत गर्नेछन् । यी तीनै प्रतिवेदन पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा संशोधनसहित पारित गरिएको छ ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि पार्टीको विधान महाधिवेशनका प्रतिनिधि हुने वैधानिक व्यवस्था गरिएको अपानि-१२ मा उल्लेख छ । दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी नभएका र यसबीचमा केन्द्रीय कमिटी तथा निकायमा मनोनीत भएका आयोजकको हैसियतमा विधान अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको अध्यक्ष ओलीले जारी गरेकोमा अपानिमा उल्लेख छ ।

1

Scroll to Top