Banijya News

भूकम्पको पुनर्निर्माणमा नेपाल विश्वकै लागि दृष्टान्त बन्यो: प्रधानमन्त्री

1
1.1K Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भोगेका कठिन प्राकृतिक चुनौती र विपत्तिहरूको सामना गर्दै पुनर्निर्माणमा देखाएको क्षमता विश्वकै लागि एक उदाहरण बनेको बताएका छन्।

बुधबार राष्ट्रियसभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी प्रतिवेदन’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले नेपालको भौगोलिक संवेदनशीलता र त्यसका बाबजुद प्राप्त उपलब्धिबारे विस्तृत धारणा राखे।

उनले नेपाल कलिलो पहाड भएको भू-धरातलमा अवस्थित रहेको र पहिरो, बाढी तथा भूकम्पजस्ता विपत्तिहरू निरन्तरको चुनौती भएको बताए। वि.सं. २०७२ को महाभूकम्पको स्मरण गर्दै उनले भने, ‘एउटै भूकम्पले ९ लाख घर र हाम्रा ऐतिहासिक सम्पदाहरू ध्वस्त बनायो। तर, हामीले ‘बिल्ड ब्याक बेटर’ को नाराका साथ पहिलेभन्दा बलिया र राम्रा संरचना बनायौँ। हाम्रो पुनर्निर्माणको मोडेल विश्वका लागि नै एक दृष्टान्त बनेको छ।’

उनले बारा-पर्साको टोर्नाडो होस् वा अन्य विपत्ति, सरकारले तीव्र गतिमा पुनर्स्थापना गरेर नेपाली समाजको सहनशीलता र प्रतिरोध क्षमतालाई प्रमाणित गरेको बताए।

प्रधानमन्त्री ओलीले हिमाल र वातावरणको मुद्दालाई नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जोडदार रूपमा उठाएको सुनाए।

‘सगरमाथा संवाददेखि संयुक्त राष्ट्रसंघ र स्पेन, तुर्कमेनिस्तानसम्मका अन्तर्राष्ट्रिय फोरमहरूमा हामीले जलवायु परिवर्तन र हिमाली क्षेत्रको संकटबारे विश्वको ध्यानाकर्षण गराएका छौँ,’ उनले भने।

1

Scroll to Top