Banijya News

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

1
1.1K Shares

गुल्मीका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन । केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले साउन दोस्रो सातासम्ममा जिल्लामा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको जनाएको छ। केन्द्रका गुल्मीका सूचना अधिकारी शिवप्रसाद बञ्जाडेले जिल्लामा सात हजार ९८८ हेक्टर क्षेत्रफलमध्ये छ हजार ९५० हेक्टरमा रोपाइँ भएको जानकारी दिए। गत वर्षको तुलनामा यस पटक रोपाइँको प्रतिशत बढेको बताउँदै गत वर्ष यस अवधिसम्ममा ७६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको उल्लेख गरे। समयमा पानी परेकाले यस पटक छोटो अवधिमा पनि बढी रोपाइँ भएको उनको भनाइ छ ।

रोपाइँकाे प्रतिशत बढेपनि खेतीयोग्य क्षेत्रफल भने घट्दै गएको बताउँदै बञ्जाडेले धान उत्पादन हुनेमध्ये यस वर्ष जिल्लामा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको जानकारी दिए। यहाँ हंसराज, झोप्री, थापचिनी, पाखे, मार्सी, रातो मार्सी, जडन, झिनुवालगायत स्थानीय तथा साँवा मन्सुली, खुमल–१, खुमल–४, हिमाली हाइब्रिड, रामधानलगायत उन्नत जातका धानखेती हुँदै आएको केन्द्रले जनाएको छ ।

1

Scroll to Top