राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि भारत सरकारले अमेरिकी F-35 स्टिल्थ लडाकु जेट नकिन्ने निर्णय गरेको छ। ब्लुमबर्गले भारत सरकारका अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
नाम नखुलाउने सर्तमा ती अधिकारीहरूले भारतले अबको निकट भविष्यमा अमेरिकाबाट F-35 लगायत अन्य कुनै पनि ठूला रक्षा सामग्री खरिद नगर्ने बताएका छन्। यसको सट्टा भारतले हातहतियारको संयुक्त विकास, प्रविधि हस्तान्तरण, भारतमै उत्पादन र रक्षा खरिदमा आत्मनिर्भरता लाई प्राथमिकता दिने बताएको छ।
लामो समयदेखि अमेरिकी रक्षा अधिकारीहरूले यस वर्षको फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको वार्तामा F-35 खरिदबारे छलफल भएको संकेत गरेका थिए। ट्रम्पले पनि सार्वजनिक रूपमा भारतलाई यो जेट बेच्ने प्रस्तावबारे कुरा गरेका थिए, तर भारतले यसमा कहिल्यै सहमति जनाएको थिएन।
त्यसबेला दुई देशबीचको द्विपक्षीय व्यापार आगामी पाँच वर्षमा ५०० अर्ब डलर पुर्याउने लक्ष्य राखिएको थियो, जसमा अमेरिकाबाट ठूलो मात्रामा रक्षा सामग्री खरिद गर्ने कुरा पनि समावेश थियो। भारतले हालै अमेरिकाबाट MH-60R सिहक हेलिकप्टर र P-8I समुद्री निगरानी विमान लगायतका रक्षा सामग्री खरिद गरिरहेको छ।
यद्यपि, भारतले आफ्नै देशमा उत्पादनको अवस्था पूरा नभएसम्म अमेरिकाबाट अत्याधुनिक प्रविधिको खरिद गर्न अनिच्छा व्यक्त गर्दै आएको थियो। ट्रम्पको कर लगाउने निर्णयपछि यो अनिच्छा झनै बलियो बनेको देखिन्छ।


