समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता गर्न सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका नाममा रहेको जग्गा बिक्रीको प्रक्रिया अघि बढाएको छ । समितिले काठमाडौं महानगरपालिका–१३ स्थित कित्ता नम्बर–१३९ को ५२५.९६ वर्गमिटर जग्गा बेचेर बचतकर्ताको रकम फिर्ता गर्न लागेको जनाएको छ । उक्त जग्ग्गाको मूल्य प्रतिआना न्यूनतम ७५ लाख रुपैयाँ तोकिएको छ ।
जग्गा खरिदकर्ताले न्यूनतम मूल्यभन्दा बढी रकम प्रस्ताव गर्नुपर्ने समितिले जनाएको छ । समितिले व्यक्ति, संस्था तथा कम्पनीलाई ३५ दिनभित्र जग्गा खरिदको बोेलपत्र पेस गर्ने समय दिएको छ । सहकारीको बचत रकम अपचलन र सम्पत्ति शुद्धीकरण मुद्दामा जेलजीवन बिताइरहेका घरजग्गा व्यवसायी इच्छाराज तामाङका तीन कम्पनीले आठ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ ।
उनका सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालि र सिभिल होम्स प्रालिले सिभिल सहकारीलाई कुल सात अर्ब ६६ करोड ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको समितिले जनाएको छ । समितिका अनुसार, सबैभन्दा बढी कर्जा सिभिल होम्सको छ । सिभिल होम्सले सात अर्ब २८ करोड ८६ लाख, सिभिल अपार्टमेन्टले ३२ करोड २५ लाख ४९ हजार र सिभिल इस्टेटले ६ करोड १८ लाख ६४ हजार रुपैयाँ सिभिल सहकारीको ऋण तिर्न बाँकी छ ।
अपार्टमेन्ट बनाउन लिएको ऋण इच्छाराजले नतिरेपछि सरकारले सिभिल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । वाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले ०८० भदौ २१ गते उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
स
सरकारले हालसम्म १९ बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । यी सहकारीमा बचतकर्ताको अर्बौं रुपैयाँ अपचलन गरिएको छ ।


