बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको प्राप्त गरेका छन् । आफ्नै पाटीभित्रको वादविवादका बीच मुख्यमन्त्री बानियाँले विश्वासको मत पाएका हुन् ।
आफ्नै पार्टीका मुख्यमन्त्री बहादुर सिंह लामालाई संसदीय दलमा अविश्वासको प्रस्ताव पारित गराएर बानियाँ मुख्यमन्त्री भएका थिए । लामालाई हटाएर बानियाँ मुख्यमन्त्री भएपछि लामा समूह असन्तुष्ट बनेको थियो । मुख्यमन्त्रीबाट हट्दै गरेको बेला लामाले तीन जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए । ती सांसदहरुलाई मुख्यमन्त्री बानियाँले मन्त्री नियुक्त नगरेपछि लामा समूह बानियाँसँग थप रुष्ट छ ।
आफूले मन्त्री नियुक्त गरेका सांसदहरुलाई मन्त्री बनाउने सहमतिमा लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उक्त सहमति पालना नगरे बानियाँ विश्वासको मत नदिने अडानमा रहेको लामा समूहलाई पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले बानियाँलाई विश्वासको मत दिन निर्देशन दिनु परेको थियो । पार्टी सभापति देउवाको निर्देशनपछि लामा समूहले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएको हो ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । कुल एक सय १० सदस्यीय बागमती प्रदेशसभामा ९२ जना सदस्य उपस्थित थिए । उपस्थितमध्ये मुख्यमन्त्री बानियाँको विश्वासको मतको पक्षमा ६३ जना, विपक्षमा २२ र तटस्थमा सात जनाले मतदान गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।


