काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ गतेदेखि सुरु भएको १७औँ संस्करणको नाडा अटो शो २०२५ आज (भदौ ८) मा भव्यताका साथ सम्पन्न भएको छ। नाडाका अध्यक्ष करण चौधरीले यसपटकको अटो शो ऐतिहासिक रूपमा सफल भएको दाबी गर्दै कुल १ लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको जानकारी दिएका छन्।
अध्यक्ष चौधरीले नाडाका उपलब्धिहरूलाई अटोमोबाइल क्षेत्रको भविष्यका लागि एउटा नयाँ सुरुवातको रूपमा लिएको बताएका छन्। उनले भने, “हाम्रो अपेक्षा अझ बढेको छ र यसले नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्यउन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउने हाम्रो आत्मविश्वासलाई थप मजबुत बनाएको छ।”
समापन समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नाडाले उठाएका नीतिगत विषयलाई मन्त्रिपरिषद्मा उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालमा बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सरकारी तथ्यांकअनुसार दैनिक औसत सात जनाको ज्यान जाने गरेको बताए। मन्त्री पौडेलले सडक सुरक्षाका उपायहरूलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
६ दिनसम्म चलेको यो प्रदर्शनीमा अटोमोबाइलका नयाँ मोडेलहरू, प्रविधि र सुरक्षाका विषयमा विभिन्न अन्तरक्रिया कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए। शनिबारको कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको उपस्थितिमा सडक र यातायात सुरक्षाबारे छलफल गरिएको थियो। अन्तिम दिन आइतबार भने समापन कार्यक्रमका कारण कुनै पनि प्यानल डिस्कसन राखिएको थिएन।
प्रदर्शनीमा विभिन्न कम्पनीहरूले नयाँ मोडलका विद्युतीय कार, मोटरसाइकल र स्कुटरहरू प्रदर्शन गरेका थिए। ब्याट्री क्षमता, चार्जिङ सुविधा र लामो यात्राका लागि उपयुक्त मोडलहरूबारे दर्शकहरूले निकै चासो राखेका थिए। साथै, सवारीसाधनमा प्रयोग भएका नयाँ सुरक्षा प्रविधिहरू, स्मार्ट फिचरहरू र इन्फोटेनमेन्ट प्रणालीहरूबारे पनि अवलोकनकर्ताहरूले जानकारी लिएका थिए।
नाडाले आयोजना गरेको यस ऐतिहासिक प्रदर्शनीले नेपालमा अटोमोबाइल क्षेत्रको भविष्य विद्युतीय सवारीसाधनतर्फ उन्मुख भएको स्पष्ट संकेत दिएको छ। प्रदर्शनीका क्रममा भएका अन्तरक्रिया कार्यक्रमहरूमा पनि सडक सुरक्षा र विद्युतीय सवारीसाधनको पूर्वाधार विकासबारे छलफल भएको थियो, जसले अटो शोलाई केवल व्यापारिक मञ्च मात्र नभई जनचेतना अभिवृद्धि गर्ने थलोका रूपमा पनि स्थापित गरेको छ।
नाडा अटो शोमा हिट्कोले पायो उत्कृष्ट स्टल अवार्ड
यस वर्षको नाडा अटो शो २०२५ मा हिट्को प्रालिलाई कम्पोनेन्ट्स श्रेणीमा उत्कृष्ट स्टल अवार्ड प्रदान गरिएको छ। कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशक प्रदीपमान प्रधानले यो अवार्ड ग्रहण गरेका हुन्।
विसं २०३२ सालमा स्थापित हिट्को प्रालि, विगत ५० वर्षदेखि औद्योगिक र सुरक्षा उपकरणहरूको आयात तथा बिक्री गर्दै आएको छ। कम्पनीले विशेषगरी अटोमोटिभ, उत्पादन र निर्माण क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
हिट्कोले नेपालका करिब ८० प्रतिशत वर्कशपलाई आवश्यक उपकरणहरू उपलब्ध गराउँदै आएको छ, जसले गर्दा विभिन्न गाडी बिक्रेताहरूसँग यसको बलियो व्यापारिक सम्बन्ध स्थापित भएको छ। नाडा अटो शोमा कम्पनीको सहभागिताले व्यावसायिक सम्बन्ध सुदृढ बनाउन र ग्राहकहरूसँगको विश्वास बढाउन मद्दत गरेको छ। यसअघि, हिट्कोले ‘नाइमा मोबिलिटी एक्स्पो’मा पनि आफ्नो उत्पादन तथा सेवाहरूको प्रदर्शन गरेको थियो।
यस वर्षको नाडा अटो शोमा विभिन्न श्रेणीमा उत्कृष्ट अवार्ड पाउने कम्पनीहरूमा:
- टु-ह्वीलर श्रेणी: अल्फा अटोमोटिभ प्रालि र रोयल इन्फिल्ड
- फोर-ह्वीलर श्रेणी: वृद्धि प्रालि (श्रेष्ठ उत्कृष्ट अवार्ड)
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नाडा अटो शोको समापन समारोहमा यी कम्पनीहरूलाई सम्मानित गरेका थिए। १७औं संस्करणको यो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। यस पटकको शोमा १ लाख ७६ हजार ७ सय ८९ जना दर्शकले अवलोकन गरेका थिए।


