Banijya News

आन्दोलनमा ‘भेडाको खोल ओढेका ब्वाँसाहरू’ पसिसके: डा.भट्टराई

1
1.2K Shares

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जारी Gen-Z आन्दोलनमा बाह्य तत्त्व घुसेर ‘क्रान्तिलाई प्रतिक्रमणतर्फ’ मोड्ने प्रयास भइरहेको दाबी गरेका छन्। उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भनाइमा आन्दोलनका वास्तविक युवा सहभागीहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।

डा. भट्टराईले लेखेका छन्, “शायद ‘Revolution’ अब ‘Counter-Revolution’ मा परिणत हुँदैछ। मैले शुरूमा तपाईंहरूलाई समर्थन गर्ने क्रममा भनेको थिएँ– ‘भेडाको खोल ओढेर आउने ब्वाँसाहरू’ संग सतर्क रहनुहोला! शायद तिनीहरू तपाईंहरूको आन्दोलनमा पसिसके!”

उनका अनुसार संसद, सिंहदरबार, अदालत, दलका कार्यालय तथा नेताहरूको निवास जस्ता लोकतन्त्रका प्रमुख आधारस्तम्भहरूमा आगजनी गर्ने काम वास्तविक युवा आन्दोलनकारीको शैली होइन। “लोकतन्त्रका प्रमुख आधारस्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान्? तिनको उद्देश्य के होला?” भट्टराईले प्रश्न गरेका छन्।

उनले आन्दोलनमा देखिएका गतिविधिको सन्दर्भमा युवालाई ‘आगो निभाउने काममा लाग्न’ समेत आग्रह गरेका छन्। साथै उनले विश्वका क्रान्तिहरू, विशेषगरी फ्रान्सेली क्रान्तिको इतिहास अध्ययन गर्नुपर्ने र नेपालकै २०५८ सालको राजनीतिक परिघटनामा लेखेको आफ्नै लेख ‘नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन’ हेर्न समेत सुझाव दिएका छन्।

भट्टराईले आफ्नो निवासमा भएको आक्रमणबारे पनि उल्लेख गर्दै भनेका छन्, “म निरन्तर तपाईंहरूको पक्षमा उभिँदै आएको, सुशासन र समृद्धिको वैकल्पिक राजनीतिका लागि खटिँदै आएको मानिसलाई तपाईंहरूले मार्नुहुन्छ भन्ने विश्वास गर्दिनँ। सुरक्षाकर्मी र सहयोगीहरूले पन्ध्र मिनेटअघि मात्र ननिकालेको भए ९६ वर्षीय पितासहित एकै चिहान हुनेरहेछौं।”

उनले आफूले देखेका आक्रमणकारीहरू वास्तविक Gen-Z कार्यकर्ता नभएको दाबी गर्दै ‘विशेष रंगको स्कार्फ’ लगाएका अपरिचित व्यक्तिहरू थिए भन्ने सुनेको बताए।

1

Scroll to Top