Banijya News

निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन निजी क्षत्रको आग्रह

1
1.2K Shares

हालैका दिनमा भएको जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपालका दुई प्रमुख निजी क्षेत्रका संस्थाहरू, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले गहिरो चिन्ता व्यक्त गरेका छन् । दुवै संस्थाले शान्ति सुरक्षा कायम गरी व्यवसाय निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले व्यवसाय निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका निम्ति आग्रह गरेको छ । नवर्निर्माण एवं पुनर्निर्माणका निम्ति आउँदो दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र भएको भन्दै यसलाई सहज रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

महासंघले देशभरको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक् स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोगलगायत विषयमा युवापुस्ताले चासो देखाएको भन्दै यसलाई सम्बोधन चाँडो गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।

युवापुस्ताको चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ । देशको समुन्नतिका निम्ति अन्योल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न तयार रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“पछिल्लो घटनाक्रममा कतिपय उद्यमी, व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भर्त्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आउँदो दिनमा आक्रमण नहुने निश्चितताका निम्ति महासंघले सबैको ध्यानाकर्षण गराएको छ । निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आउँदो दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्ने आकलन गरिएको महासंघले जनाएको छ ।
त्यसैगरी, जेनजी प्रदर्शनका क्रममा जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले गहिरो दुःख व्यक्त गरेको छ । परिसंघले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

परिसंघले शुक्रबार ९भदौ २७० एक विज्ञप्ति जारी गर्दै सुशासन, भ्रष्टाचार निवारण र सार्वजनिक क्षेत्रमा पारदर्शितासहितका युवापुस्ताको आकांक्षालाई उच्च सम्मान दिँदै मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेको छ । “विद्यमान अन्योलतालाई पार गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सबै पक्ष एकजुट हुनुपर्छ,” वक्तव्यमा भनिएको छ ।

आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाटका घटनाले उद्यमी व्यवसायीलाई गहिरो चिन्तामा पारेको परिसंघले जनाएको छ । उद्योग तथा व्यवसायकेन्द्रित तोडफोड र आगजनीका कारण लगानीकर्ता त्रसित मात्र नभई धेरैको रोजगारीसमेत प्रभावित भएको संघको ठहर छ । परिसंघले लगानी र रोजगार सुरक्षित राख्न निजी क्षेत्रलाई भयमुक्त वातावरण दिन र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार तथा सरोकारवालालाई आग्रह गरेको छ ।

“सार्वजनिक तथा निजी संरचनाको पुनर्निर्माणका लागि ठूलो लगानी आवश्यक छ, जुन राज्यको स्रोतले मात्र सम्भव छैन । राज्यको प्रमुख आयस्रोत पनि निजी क्षेत्र भएकाले उद्योग व्यवसाय निर्भय भएर सञ्चालन हुने वातावरण तुरुन्त सुनिश्चित हुनुपर्छ,” वक्तव्यमा भनिएको छ ।

कोभिड–१९ र त्यसपछिका नियामकीय चुनौतीका कारण अर्थतन्त्रले झन्डै तीन वर्ष कठिन समय व्यतित गरेको परिसंघको मूल्यांकन छ । हालको अवस्थाले सहज रूपमा उद्योग–व्यवसाय सञ्चालन गर्न नदिए अर्थचक्रमै असर पर्न सक्ने र सरकारको राजस्व घट्न सक्ने चेतावनी दिँदै परिसंघले समयमै वातावरण सुधार्न आग्रह गरेको छ ।

1

Scroll to Top